दुई पटक जेल परिसकेका पुन्टु तेस्रो पटक हत्या आरोपमा समातिए



कैलाली : बैतडीका हर्क भण्डारीको चैत २ गते कैलालीको गोदावरीमा भएको हत्यामा संलग्न पुन्टु भाट पक्राउ परेका छन् । उनको नागरिताको नाम पुन्टु भाट रहेको भए पनि अन्य केसहरूमा धिरज भाट र गणेश भाटको नामबाट उनीबिरुद्ध मुद्दा चलाइएको थियो ।  

भण्डारीको हत्या आरोपमा पुन्टु सँगै उनका साला नाता पर्ने गोविन्द आउजी पनि पक्राउ परेका छन् । पक्राउ परेका दुवै जनालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको छ । 

पुन्टु यस अघि पनि लुटपाटको अभियोगमा साढे दुई वर्ष र बलात्कारको आरोपमा केही समय जेल सजाय भोगेर छुटेको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी आभूषण तिम्सिनाले जानकारी दिए । 

उनीहरूले अत्तरीया बसपार्क नजिकको होटेलमा आफैले पैसा तिरी सँगै मादक पदार्थ सेवन गरेको र पुन्टुको घरमा बस्ने भनी त्यहाँबाट हिँडेका थिए । अटो रिक्सामा गोदावरी ४ मा पुगेपछि पुन्टु र गोविन्द मिलेर भण्डारीलाई जंगल छेउमा लगी सामान्य कुटपिट गरी उनको साथमा भएको रकम लुटेर लगेका थिए ।

पछि आफूहरूले लुटेको विषय बाहिर आउन सक्ने भन्दै पुनः घटनास्थलमा आएर भण्डारीलाई ढुङगा र लाठीले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको  तिम्सिनाले बताए । 

दुवैलाई म्याद थप गरी अदालत पेस गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्