फिदिम नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरण



काठमाडौं : पाँचथरको फिदिम नगरपालिकामा राष्ट्रिय  परिचयपत्र वितरण गरिएको छ। बाँकी स्थानीय तहमा मंगलबार परिचयपत्र वितरण सुरु हुनेछ। परिचयपत्र वितरण गर्न सबै स्थानीय तहका वडामा टोली खटाइएको छ।

मंसिर ३ गते सुरु भएको परिचयपत्र वितरण फिदिम नगरपालिकामा सकिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक शिवराज जोशीले जानकारी दिए।

उनले भने, ‘यसमा छुटेका सबैले जिल्ला प्रशासन कार्यालयमा गई आफ्नो परिचयपत्र बनाउन सक्छन्।’ उनले बाँकी स्थानीय तहका करिब ८० हजारको विवरण संकलन गरिसकिएको बताए।

सरकारले पहिलो चरणमा पाँचथर र सिंहदरबारका उच्च पदस्थ सरकारी कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिरहेको छ। उनले पहिलो चरणको परिचयपत्र वितरण चैतभित्र सकिने बताए।

दोस्रो चरणमा १५ जिल्ला, तेस्रो चरणमा २५ जिल्ला र चौथो चरणमा बाँकी सबै जिल्लामा परिचयपत्र वितरण गरिने जानकारी पनि उनले दिए। नागरिकता प्रमाणपत्रमा रहेका कमी कमजोरी हटाउन र देशको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन राष्ट्रिय परिचयपत्रको अवधारणा ल्याइएको हो। आगामी ३ वर्षमा १६ वर्ष पुगेका सबैलाई परिचयपत्र वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्