मुसलधारे वर्षापछिकाे बाढीका काराण इन्डोनेसियामा ६३ जनाको मृत्यु



एजेन्सी जकार्ता : मुसलधारे वर्षापछिको बाढीले पहिरोसमेत ल्याएपछि इन्डोनेसियाको सबैभन्दा पूर्वी प्रान्त पपुआमा कम्तीमा ६३ जनाको मृत्यु भएको छ। दर्जनौं घाइते भएका द्धन् भने ४ हजारभन्दा बढी पपुआवासी विस्थापित भएको इन्डोनेसियाली अधिकारीले आइतबार जानकारी दिएका छन्।

शनिबार राति बाढीग्रस्त सेन्तानी सहरमा अझै उद्धार जारी रहेकाले मृतक संख्या बढ्नसक्ने आशंका गरिएको छ। त्यहाँको राष्ट्रिय दैवीप्रकोप एजेन्सीका प्रवक्ता सुतोपो पूर्वो नुग्रोहोले बाढीबाट ५१ जनाको मृत्यु भएको र ७४ जना घाइते भएको जानकारी पत्रकारलाई दिएका छन्। 

मुसलधारे पानी परेपछि सेन्तानी नजिकैको प्रान्तीय राजधानी जयपुरामा गएको पहिरोमा ७ जनाको मृत्यु भएको उनले बताए। उद्धारमा खटिएका सैनिकले घरको भग्नावशेषमा पुरिएका एक ५ महिने शिशुको जीवितै उद्धार गरेको र उपचारका लागि अस्पताल लगेको जानकारी पपुआका सैनिक प्रवक्ता मुहम्मद आइदीले दिए।

प्रवक्ता नुग्रोहोले सर्वसाधारणलाई अन्यत्र सारिरहेकाले बाढीपिडितको संख्या अझै बढ्ने बताए। उनले बाढीग्रस्त सबै ठाउँमा अझै उद्धारकर्ता पुगिनसकेको पनि बताए। उनले ६ अस्थायी शिविरमा ४ हजार १ सय ५० विस्थापित बसेको जानकारी दिए।

बाढीले त्यहाँ ठूलै विध्वंश मच्चाएको छ। बाढीले सयौं घर र ३ वटा पुल भत्काएको छ। विमानस्थलमा पार्किङ गरिएको एउटा ट्विन अटर विमानसमेत बाढीमा क्षतिग्रस्त भए पनि सेन्तानी विमानस्थल भने सञ्चालनमा नै रहेको छ। 

प्रतिक्रिया दिनुहोस्