विषाक्त रसायन नदीमा फाल्दा दुई हजार मलेसियन बिरामी



एजेन्सीः मलेसियामा ४० टनभन्दा बढी फोहोर नदीमा फालेपछि यसबाट फैलिएको प्रदूषित हावाका कारण कैयौं बालबालिकासहित झन्डै २ हजार व्यक्ति बिरामी भएका छन् । स्थानीय अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार नदीको पानीमा मिसाइएको विषाक्त रसायनबाट निस्केको ग्यास वातावरणमा फैलिँदा मलेसियाको दक्षिणी जोहोर राज्यमा ठूलो सङ्ख्यामा स्थानीय नागरिक बिरामी परेका हुन् । हावामा विषाक्त ग्यास फैलिएका कारण बालबालिका तथा वृद्धवृद्धामा यसको प्रभाव बढी परेको बताइएको छ । 

घटनापछि जोहोर राज्यमा रहेका झन्डै २ सय विद्यालय तथा पूर्व प्राथमिक विद्यालयहरू बन्द गरिएको छ । गत हप्ता फालिएको विषाक्त पदार्थले असर गर्न सक्ने देखिएपछि ती शैक्षिक संस्थाहरू बन्द गरिएको अधिकारीहरुले जनाएका छन् । 

विषाक्त पदार्थले असर गरेका व्यक्तिलाई अरुची हुने, टाउको दुख्ने, बान्ता हुनेलगायतका समस्या देखिएको छ । बिरामी भएकामध्ये केहीको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन् । 

विषाक्त पदार्थका कारण कुल २ हजार ३५५ जना बिरामी भएकोमा ११३ जना अझै पनि उपचारका लागि अस्पतालमै रहेको उनीहरूको भनाइ छ । प्रधानमन्त्री महाथिर मोहम्मदले बिहीबार नै बिरामीहरूलाई उपचार गराइएको ठाउँमा पुगेर भेट्नुका साथै बिरामीको अवस्थाबारे जानकारी  लिएका छन् । उनले उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई प्राथमिकता र गम्भीरतापूर्वक ती बिरामीको उपचार गर्न आग्रह गर्दै सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन पनि दिए । 

बिरामी र स्वास्थ्यकर्मीलाई भेटेपछि प्रधानमन्त्रीले भनेका छन्, 'उनीहरूले आफ्नो काम राम्रोसँग गरेका छन्, तैपनि केही बिरामीको अवस्था गम्भीर नै रहेको पाइयो ।' औद्योगिक सहर परिसर गुडाङको नदीमा भएको यो समस्या अन्यत्र फैलिन र थप अरूलाई असर पर्न नदिन तत्काल समाधान गर्ने प्रयास भइरहेको अधिकारीले जनाएका छन् । 

घटनामा दोषी भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको र उनीहरू दोषी ठहरिएमा वातावरण संरक्षण सम्बन्धी ऐनअनुसार ५ वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्