गैरकानुनी उद्योग सञ्चालन गरेको आरोपीलाई पर्सा प्रहरीको भिआईपी व्यवस्था



वीरगन्ज : गैरकानुनी रूपमा उद्योग सञ्चालन गरेको आरोपमा पक्राउ परेका किसान एग्रो केमिकल्स उद्योगका सञ्चालक श्यामकुमार तुल्स्यानलाई स्वास्थ्य उपचारको बहानामा अस्पताल भर्ना भएका छन्।

उनी उच्च रक्तचाप, छातिमा पीडा र खुट्टा दुखेको बहानामा गण्डकस्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा डिलक्स केविनमा बसिरहेका छन्। अवैध तवरबाट कीटनाशक औषधि उत्पादन गरेकोमा पक्राउ उनलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न बुधबार जिल्ला अदालत पर्साले सात दिनको म्याद दिएको थियो।

तर बुधबार राति नै उनको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै प्रहरीले नारायणी अस्पतालमा भर्ना गरेको थियो।

नारायणी अस्पतालमै उनको स्वास्थ्यमा सुधार आएपछि चिकित्सकले अवस्था सामान्य रहेको बताए। तर जबरजस्ती वीरगन्जको हेल्थ केयर अस्पतालमा रेफर गर्न लगाएपछि नारायणी अस्पतालका चिकित्सकले रेफर गरेको अस्पताल स्रोतले जनाएको छ।

हिरासतमा नबस्न पर्सा प्रहरीलाई आर्थिक प्रभावमा पारी तुल्स्यान हेल्थ केयर अस्पतालको वातानुकुलित डिलक्स केविन नम्बर ३ मा बसेका छन्। दुईजना सुरक्षा गार्ड पनि उनको साथमा छन्। उनको बारेमा बुझ्न जाँदा तुल्स्यान आफन्तसँग कुराकानी गरिरहेका थिए।

उनको उपचारमा संलग्न हेल्थ केयर अस्पतालका डा.दिपक कुशवाहाले अहिले उनको स्वास्थ्यस्थिति सामान्य रहेको जानकारी दिए। डा.कुशवाहाले भने, ‘तुल्स्यान आत्तिएकाले उनको ब्लडप्रेसर अलि हाई भएको थियो, त्यसैले छातिमा दुखेको थियो तर परीक्षणपछि औषधि दिएपछि उनको अवस्थामा सुधार भएको छ।  जान चाहे डिस्र्चाज गरेर जान सक्छन्।’

आरोपित तुल्स्यान पैसावाला भएकाले प्रहरीले अरु थुनुवाभन्दा उनलाई बेग्लै र भिआइपी व्यवस्था गरेको आरोप अन्य थुनुवाले लगाएका छन्। सानालाई ऐन ठूलालाई चैन भन्ने उखान प्रहरीले चरितार्थ गरेको छ।

‘तुल्स्यानको स्वास्थ्य अवस्था बिग्रेपछि हामीले सरकारी अस्पताल लगेका हौं। तर त्यहाँका चिकित्सकले रेफर गरेकाले प्रहरीको नियन्त्रणमै वीरगन्जको हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ’, पर्साका प्रहरी प्रवक्ता एवं डीएसपी अनन्तराम शर्माले भने, ‘चिकित्सकले डिस्चार्ज गर्ने वित्तिकै हामी पुनः हिरासतमा राख्छौं।’

जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत उज्वलबहादुर बस्नेतको नेतृत्वमा गएको प्रहरीसहितको टोलीले गत मंगलबार वीरगन्ज–४ मा अवैध रूपमा सञ्चालित किसान एग्रो केमिकल्स उद्योगमा छापा मारेर उत्पादित विभिन्न सामाग्रीसहित तुल्स्यानलाई नियन्त्रणमा लिएको थियो।

जिल्ला अदातलका न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासले बुधबार अनुसन्धानका लागि हिरासतमा राख्न ७ दिन म्याद थपको निर्णय गरेको जिल्ला अदालत पर्साका शाखा अधिकृत तथा सूचना अधिकारी जगतबहादुर भण्डारीले जानकारी दिए।

उद्योगले अवैध ढंगले कीटनाशक औषधि उत्पादन र बिक्री वितरण गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय पर्साले आकस्मिक अनुगमन गरेको थियो। अनुगमनमा अनुमति नलिई उद्योग सञ्चालन गरेको, दर्ता नगरेको, डेट एक्सपायर्ड उत्पादन फेरि बजार पठाउन प्याकिङ गरेको फेला परेकाले तुल्स्यानलाई समेत अनुगमन टोलीले पक्राउ गरेको थियो।

तुल्स्यानलाई हिरासतबाट छुटाउन ठूलो रकमको चलखेल भएको र राजनीतिक दलका केही नेतादेखि व्यापारीसम्म उनलाई छुटाउन लागि परेका छन्। बिरामी भएको नाटक गरी अस्पताल भर्ना भएका तुल्स्यानलाई आर्थिक लेनदेन गरी ७ दिनपछि अस्पतालबाटै छाड्ने तयारी भइरहेको स्रोतले दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्