जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रहः ‘इमान बचाएर काम गर्नुहोस्’



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिलाई इमान बचाएर काम गर्न आग्रह गरेका छन्। नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको इमान डगमगायो भने जनताको जनप्रतिनिधिमुलक संस्था माथिको विश्वास पनि डगमगाउने बताए ।

“जनप्रतिनिधिमुलक संस्थाप्रति जनताको विश्वास घट्यो भने लोकतन्त्र कमजोर हुन्छ”, प्रधानमन्त्री ओलीले भने, “त्यसकारण तपाइहरूको आचरणका आधारमा लोकतन्त्रप्रति जनताले दृष्टिकोण बनाउने हुन् । यसमा सबैले सजग हुनुपर्दछ ।” प्रधानमन्त्री ओलीले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता नभूल्न पनि जनप्रतिनिधिलाई सम्झाएका छन् ।

“अवसरहरू सक्षम र गरिबलाई दिनुहोस् आफ्ना छोराछोरीलाई होइन”, ओलीले भने, “निर्वाचनका बेला तपाईंले छोराछोरीसँग होइन् मतदातालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।” ओलीले नेपालबाट पृथकतावादी आन्दोलन समाप्त भएको स्पष्ट पारे । “पृथकतावादका नाममा ठाउँठाउँमा कार्यपत्र प्रस्तुत गरेर हिड्नेले अहिले यसको विरोध गरेका छन्”, ओलीले भने । प्रधानमन्त्री ओलीले लुटपाट गर्ने समुहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गरे।

“लुटेराले तपाईंहरूलाई धम्क्याउलान्, चन्दा माग्लान् तर, उनीहरूलाई चन्दा नदिनुहोस” ओलीले भने, “लुटेरा प्रवृतिले देशको विकास हुँदैन । यस्ता प्रवृतिलाई नेपाली समाजले स्विकार्दैन् ।” प्रधानमन्त्री ओलीले स्थानीय तहका अधिकारका विषयमा नगरपालिका संघ, गाउँपालिका महासंघ र जिल्ला समन्वय समिति महासंघका प्रतिनिधिसँग छलफल गर्ने बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिकाका असल अभ्यास नामको पुस्तक बिमोचन गरे । 

प्रतिक्रिया दिनुहोस्