स्वयंसेवक बन्न युवा उत्साहित, दुई हजारले भरे आवेदन



सुर्खेत : कर्णाली प्रदेशमा स्वयम्सेवक बनेर काम गर्नका लागि स्थानीय युवाहरु उत्साहित देखिएका छन्। प्रदेश सरकारले माग गरेको स्वयम्सेवक आवेदनमा उत्सापूर्ण सहभागिता देखिएको हो। दुईसय २७ सिट आह्वान गरिएकोमा दुई हजार भन्दा बढी युवाहरू इच्छुक भएका छन्।  

प्रदेश सरकारले माग गरेका दुई सय २७ जना स्वयंसेवकका लागि दुई हजार एक सय २३ जनाले आवेदन दिएका छन्। सरकारले पहिलो चरणमा कर्णालीका दस जिल्लाका लागि विभिन्न प्राविधिक क्षेत्रका स्वयमसेवक माग गरेको थियो। 

जसमा हेल्थ असिस्टेन्टमा एक सय १५, अहेवमा आठ सय ५३, स्टार्फ नर्समा ३५, अनमीमा दुई सय १९, रेडियो ग्राफरमा ६ जना, ल्याव असिस्टेन्टमा एक सय ६५,  प्रशिक्षकमा १८ जना, सिभिल इन्जिनियर सात जना, सिभिल सव इन्जिनियरमा ८६, असिस्टेन्ट सव इन्जिनियरमा एक सय ९ जनाले आवेदन दिएका छन्।

यस्तै भुगर्वविद्मा दुई जना, कृषि जेटिएमा तीन सय ३३, भेटनेरी जेटीएमा एक सय ७५ जनाबाट आवेदन परेको तालिम केन्द्र सुर्खेतका प्रमुख धर्मजीत शाहीले जानकारी दिए। उनका अनुसार सरकारले आवेदकहरूलाई आगामी चैत्र ३ गते अन्तरवार्ताका लागि  बोलाएको छ। 

सम्बन्धित जिल्लाबाट आवेदन भरेका उम्मेदवारहरूको अन्तर्वार्ता १० वटै जिल्ला सदरमुकाममा हुनेछ। शैक्षिक तालिम केन्द्र सुर्खेतले सूचना प्रकाशन गर्दै जिल्ला समन्वय समितिको कार्यालयमा स्वयंमसेवकहरूको अन्तरवार्ता हुनेछ। सुर्खेतको हकमा भने शौक्षिक तालिम केन्द्रमा नै अन्तरवार्ता लिइनेछ।

उनले मेडिकल अफिसरमा आवेदन नपरेको बताए। ‘मेडिकल अफिसरका लागि आवेदन शून्य छ’ उनले भने। फागुन १० गतेदेखि २५ गतेसम्मको म्याद दिएर सरकारले दश जिल्लाबाट अनलाइनमार्फत स्वयंमसेवा गर्न इच्छुक व्यक्तिबाट आवेदन माग गरिएको थियो।

प्राविधिक र अप्राविधिकतर्फ स्वयंमसेवक परिचालन गर्ने योजना बनाएको मन्त्रालयले पहिलो चरणमा प्राविधिक तर्फ स्वयंमसेवक माग गरेको हो। प्रदेश सरकारले ‘क’ वर्गका डोल्पा, मुगु र हुम्ला जिल्लामा २८/२८ जना स्वयम्सेवक परिचालन गर्ने तयारीमा छ। ‘ख’ वर्गको जुम्ला र कालिकोट जिल्लामा २४÷२४ जना र जाजरकोटमा २३ जना स्वयम्सेवकको दरबन्दी कायम गरिएको छ।  

यस्तै, ‘ग’ वर्गका पश्चिम रुकुम र दैलेखमा २१÷२१ जना र सल्यान जिल्लामा १८ जना स्वयम्सेवक परिचालन गर्नेछ। सुर्खेतमा भने १५ जना स्वयम्सेवक परिचालन हुनेछन्। कार्यविधि अनुसार प्रदेश सरकारले स्वयंमसेवकलाई जीवन निर्वाह भक्ता दिने छ। वर्गीकरण गरिएको जिल्ला अनुसार नै भत्ता वितरण गरिनेछ। स्वयम्सेवकको योग्यता र विकटताका आधारमा सरकारले जीवन निर्वाह भत्ता निर्धारण गरेको छ।

स्नात्तकोत्तर उत्र्तीण भएको प्राविधिक र अप्राविधितर्फको १९ हजार आठ सयदेखि २२ हजार दुई सयसम्म, स्नातक तह उत्तिर्ण गरेकाले १९ हजार दुई सय देखि २१ हजार ६ सयसम्म, अप्राविधिकले १८ हजारदेखि २० हजार चार सयसम्म, उच्च माध्यमिक तह वा सो सरह उत्तीर्ण गरेका प्राविधिकतर्फकाले १५ हजार ६ सयदेखि १८ हजार र अप्राविधिकले १५ हजारदेखि १७  हजार चार सयसम्म भत्ता पाउने कार्यविधिमा उल्लेख छ।

यस्तै, प्रवेशिका परीक्षा उत्तीर्ण गरेका प्राविधिकहरूका लागि १४ हजार चारसयदेखि १६ हजार आठ सयसम्म भत्ता तोकिएको छ। 

 

प्रतिक्रिया दिनुहोस्