‘भ्रष्टाचारविरुद्ध अविचलित रुपमा अघि बढिरहोस्’ 



काठमाडौं । आज माघ २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औं स्थापना दिवस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संवैधानिक आयोगको रुपमा मान्यता प्राप्त दिनको स्मरणमा स्थापना दिवस मनाइदैछ ।

मुलुकमा भएको २०४६ सालको ऐतिहासिक परिवर्तनपछि प्रजातन्त्र पुनःस्थापना भएसँगै जारी भएको तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ मा अख्तियारलाई संवैधानिक आयोगको रुपमा स्थापित गरेको थियो । त्यसअघि अख्तियार कार्यपालिका मातहत थियो । २०४७ सालको संविधानले संवैधानिक आयोगको रुपमा स्थापित गरेपछि त्यही दिनको सम्झनामा अख्तियारले हरेक वर्ष माघ २८ गतेको दिनलाई आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । 

संवैधानिक आयोग भएसँगै अख्तियार सबल, सक्षम र अधिकारसम्पन्न आयोगको रुपमा स्थापित भएको छ । यसले २८ वर्षयता गरेका कामकारवाहीलाई नियाल्दा अख्तियारले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्न कठोर कदम चालेको देखिन्छ । यसले दण्डात्मक, निर्देशात्मक र प्रवर्र्धनात्मक कदमअन्तर्गत विभिन्न उपाय अवलम्बन गरी भ्रष्टाचार नियन्त्रणको प्रयास गरिरहेको छ । 

चाहे राजनीतिक वृत्तका व्यक्ति हुन् वा उच्च तहका सार्वजनिक पदाधिकारी जो कोहीविरुद्ध मुद्दा चलाउन अख्तियार पछि हटेको छैन । हो बेला बेला यो संस्थामाथि राजनीतिक वृत्तबाट प्रहार नभएको होइन । यसका अधिकार संकुचन पनि गरियो । तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ ले दिएको अधिकारलाई नेपाल अन्तरिम संविधान २०६३ले यथावत् राखेको थियो । तर २०७२ साल असोज २ गते संविधानसभाबाट जारी भएको नेपालको संविधानमा भने यसको अधिकार संकुचन  गरियो । 

अख्तियारले पाएको अनुचित कार्यमा कारवाही गर्ने अधिकार खोसियो । ‘अनुचित कार्य’को नाममा राजनीतिक वृत्तका व्यक्तिहरुलाई बढी निशाना बनाउने भन्दै संविधानबाट त्यो अधिकार खोसियो । यो अधिकार खोसिँदा अहिले सार्वजनिक संस्थामा बेथिति मौलाएको छ । यो बेथिति बढ्दो छ । तर यसमा अख्तियारले चाहेर पनि केही गर्न सकेको छैन । भ्रष्टाचारजन्य कार्यमा अख्तियारले मुद्दा चलाउने गरेको छ । 

कहिलेकाहीँ सानो माछा वा ठूलो माछाको कुरो पनि आउँछ । सानो माछा मात्रै समातेर ठूलो माछालाई अख्तियारले उन्मुक्ति दिएको आरोप अख्तियारलाई लाग्नेगरेको छ । भ्रष्टाचार भनेको सानो वा ठूलो नभइ यो प्रवृत्ति हो । सार्वजनिक सेवा प्रवाहका क्रममा सेवाग्राहीबाट घूस लिनुहुन्न भन्ने राष्ट्रसेवक कर्मचारीलाई थाहा नहुने हुँदैन । सानो रकम घूस पनि भ्रष्टाचार हो । पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गर्नु पनि भ्रष्टाचार हो । सानो वा ठूलो नभइ यसका प्रवृत्तिविरुद्ध अख्तियार लडेको छ,  लड्नुपर्छ पनि । 

भ्रष्टाचारजन्य कसुर अपराधका मुद्दामध्ये केहीमा अख्तियारले सफलता पाएको छ भने केहीमा असफलता पाएको छ । नवीनतम अनुसन्धान पद्धतिको अभावमा भ्रष्टाचारजन्य कसुर अपराधको सुक्ष्म अनुसन्धान सहज छैन । तथापि अख्तियारले भ्रष्टाचारजन्य अपराध गर्नेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दैआएको छ । असफलताबाट पाठ सिकेर अख्तियारले नविनतम, आधुनिक र वैज्ञानिक अनुसन्धान प्रणाली अपनाउनुपर्ने देखिन्छ ।

अख्तियार मात्र होइन, भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रिय सतर्कता केन्द्रलगायतका अन्य निकाय पनि नेपालमा क्रियाशील छन् । तथापि नेपाल भ्रष्टाचार बढी हुने मुलुकमा पर्ने गरेको छ । यति हुँदाहुँदै पनि अख्तियारले गरेको भ्रष्टाचार नियन्त्रणसम्बन्धी कदम सराहनीय छ । यो कदम अविचलित रुपमा अघि बढिरहोस् । आगामी दिनमा जस्तोसुकै परिस्थिति आए पनि खुट्टा नकमाइ भ्रष्टाचारविरुद्धको लडाईमा निरन्तर अगाडि बढिरहोस् । यसको २८औ स्थापना दिवसमा यही छ, शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस्