एमालेले सरकारलाई दिएको समर्थन आज फिर्ता लिने



काठमाडौँ । नेपाली काङ्ग्रेससँग नयाँ सहमति जुटेपछि नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । एमालेका प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौला ले आज एमालेका मन्त्रीहरूले राजीनामा दिने र सरकारलाई दिएको समर्थ फिर्ता लिने जानकारी दिए ।

मङ्गलवार बसेको एमाले केन्द्री सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । दाहालले राजीनामा नगर्ने बताएपछि एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो ।

सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती छन् ।

संविधान संशोधनसहित सत्ता सहकार्य गर्ने सहमति नेपाली काङ्ग्रेससँग एमालेले सोमबार राति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्