कोलम्बियालाई बराबरीमा रोक्दै ब्राजिल क्वार्टरफाइनलमा



काठमाडौँ । कोलम्बियालाई बराबरीमा रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। लेभिस स्टेडियममा सम्पन्न समूह डी को अन्तिम खेलमा ब्राजिलले शीर्ष स्थानमा रहेको कोलम्बियालाई १-१ गोलको बराबरीमा रोकेको हो।

यस समूहबाट कोलम्बिया यो खेलअघि नै क्वार्टरफाइनलमा पुगिसकेको थियो। समूह विजेता बनेको कोलम्बियाले तीन खेलबाट अपराजित रहँदै सात अङ्क जोड्यो। अपराजित रहेको ब्राजिलले पनि समान खेलबाट पाँच अङ्क जोड्यो।

चार अङ्क जोडेको कोस्टरिका र अङ्कविहीन पाराग्वे प्रतियोगिताबाट बाहिरियो। खेलको १२औँ मिनेटमै राफिन्हाले फ्रिकिकमार्फत् गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए।

तर, पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा जोन कर्डोबाको पासमा डेनियल मुनोजले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काए। त्यसपछि कुनै गोल हुन नसक्दा दुवै टोलीले अङ्क बाँडे।

प्रतिक्रिया दिनुहोस्