नुनको मूल्य ३ रुपैयाँले बढ्यो



काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिको मङ्गलवार बसेको बैठकले नुनको मूल्य ३ रुपैयाँले बढाएको हो । साल्ट ट्रेडिङ कर्पोरेशनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले जारी गरेको विज्ञप्ति अनुसार नुनको मूल्य मङ्गलवार राति १२ बजेदेखि लागू हुनेछ ।

नयाँ मूल्‍यसुची अनुसार अब प्रतिकिलो २३ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । न्यू शक्ति नुनलाई उपभोक्ताले प्रतिकिलो २० रुपैयाँमा किन्नुपर्नेछ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १७ रुपैयाँ थियो ।

यस्तै भानु नुनको मूल्य भने  यथावत् राखेको साल्ट ट्रेडिङले  जनाएको छ । साल्ट ट्रेडिङले भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ ।
साल्ट ट्रेडिङले भानु नुन दुर्गम जिल्लाका उपभोक्ताहरुलाई मात्र सहुलियत रूपमा उपलब्ध गराउँदै आएको छ ।

नुनको मूल्य वृद्धि भएको उक्त सूचना प्रदेश, शाखा, उपशाखा र डिपो कार्यालयलाई पत्राचार समेत गरेको साल्ट ट्रेडिङले विज्ञप्तिमार्पत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्