भारतीयका फिल्मका भिलेन ‘हस्व दीर्घ’मा अभिनय गर्न काठमाडौँमा



काठमाडौँ । नायिका नीता ढुङ्गानाले निर्माण गर्न लागेको फिल्म ‘हस्व दीर्घ’ मा अभिनय गर्न भारतीय कलाकारहरू काठमाडौँ आइपुगेका छन् । चौथो चरणको छायाङ्कनका लागि भारतीय कलाकारहरू प्रदीप रावत र सुनील वर्मा काठमाडौँ आएका हुन् ।

निर्माण पक्षले सोमबार ललितपुरको एक होटलमा पत्रकार सम्मेलन गरी अन्तिम चरणको छायाङ्कनका लागि उनीहरू काठमाडौँ आएको जानकारी गराएको हो ।

आइतबारबाट सुरु भएको छायाङ्कन ४ दिनमा सकिने निर्देशक चन्द्र पन्तले जानकारी दिए । उनकाअनुसार काठमाडौँका केही स्थानमा अन्तिम चरणको छायाङ्कन बाँकी रहेको छ । ‘ललितपुरबाट हामीले छायाङ्कन सुरु गर्‍यौँ । लगभग छायाङ्कन पूरा भयो,’ निर्देशक पन्तले भने । प्रदीप र सुनीलको अंशको छायाङ्कन भइरहेको फिल्मकी नायिकासमेत रहेकी नीताले बताइन् ।

फिल्ममा नीता, प्रदीप, सुनीलसहित हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चीता लुईटेल, विपना थापा, प्रशानत ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

यस फिल्मको कथा अभिनेता हरिहर अधिकारीको हो । पटकथा तथा संवाद भने हरिहर, प्रतीक पौडेल र निर्देशक पन्त मिलेर लेखेका हुन् ।

नेपाली, तेलुगु र हिन्दी भाषामा फिल्म निर्माण हुने बताइएको छ । नेपालका लागि प्रदर्शन मिति आगामी असोज ३ गतेलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्