पेनाल्टी सुटआउटमा गोलरक्षक कोस्टाले तीन प्रहार बचाउँदा पोर्चुगल क्वार्टरफाइनलमा 



काठमाडौँ । पेनाल्टी सुटआउटमा गोलरक्षक डिओगो कोस्टाले तीन प्रहार बचाउँदा पोर्चुगल युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। फ्रान्कफर्टमा मङ्गलवार बिहान सम्पन्न खेलमा पोर्चुगलले स्लोभानियालाई पेनाल्टी सुटआउटमा ३–० गोलले पराजित गरेको हो।

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। अतिरिक्त ३० मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टी चुकाउँदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। रोनाल्डोको खेलको १०५औं मिनेटमा गरेको प्रहारलाई स्लोभानियाका कप्तान तथा गोलरक्षक यान ओब्लाकले विफल पारेका थिए।

पेनाल्टी सुटआउटमा पोर्चुगलका गोलरक्षक कोस्टाले स्लोभानियाका जोसिप इलिसिच, जुरे बाल्कोभेक र बेन्जामिन वर्बिचको प्रहार बचाएका थिए। पोर्चुगलका रोनाल्डो, ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भाले भने गोल गरे।

जितसँगै पोर्चुगलले अब क्वार्टरफाइनलमा फ्रान्सको सामना गर्नेछ। फ्रान्सले बेल्जियमलाई १–० ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्