अर्जेन्टिना शत प्रतिशत जितसहित समूह विजेता



काठमाडौँ । कोपा अमेरिका २०२४ अन्तर्गत समूह ए को अन्तिम खेलमा पेरुलाई हराउँदै साविक विजेता अर्जेन्टिना शत प्रतिशत नतिजासहित समुह विजेता बनेको छ ।

अर्जेन्टिनाले हार्ड रक रंगशालामा पेरुमाथि २-० को जित निकाल्यो । अर्जेन्टिनाका लागि दुवै गोल लौटारो मार्टिनेजले दोस्रो हाफमा गरेका थिए । कप्तान लिओनेल मेस्सी पूरै समय बेन्चमा बसेको खेलमा अर्जेन्टिनाले खेलमा पूर्ण पकड कायम गरेको थियो ।

पहिलो हाफमा पटक पटक गोल गर्न चुकेको अर्जेन्टिनाका लागि दोस्रो हाफको ४७ औं मिनेटमा लौटारोले खाता खोले । उनले एन्जल डी मारियाको पासमा गोल गरेका थिए । ७२ औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाएपनि लिआन्द्रो पारेडेसको प्रहार पोस्टमा लागेर फर्केको थियो ।

८६ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे । उनले डिफेन्सले क्लियर गर्न नसकेको बलमा पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट फिनिस गरे । त्यसअघि निको टाग्लीयाफिकोको प्रयास पोस्टभित्र छिरेपनि भीएआरले अफसाइड दिएको थियो ।

यस समूहको अर्को खेलमा क्यानडा र चिलीले गोलरहित बराबरी खेले । यससँगै चिली भने समूह चरणबाट नै बाहिरियो । अर्जेन्टिनाको ३ खेलमा ९ अंक हुँदा क्यानडाले ४ अंक जोड्यो । चिलीको २ तथा पेरुको १ अंक रह्यो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्