देशलाई धानमा मात्र नभएर खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री



pm prachand

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई धानमा मात्र नभए खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार निरन्तर लागि रहेको बताएका छन् । भरतपुर महानगरले आज चितवनमा आयोजना गरेको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा सहभागी हुँदै प्रधानमन्त्रीले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने गरी सरकारले कृषि दशक कार्यक्रम अघि बढाएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषि दशक कार्यक्रम घोषणा गरेको बताउँदै सिँचाइ, बीउ एवं मल सहज रूपमा उपलब्ध गराउने र यान्त्रिकीकरण गरेर धानमा आत्मनिर्भर हुन सकिने बताए ।

धान बाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीन वटै तहका सरकारलाई नेपाल सरकारले लिएका नीतिहरूको सफल कार्यान्वयनका लागि आह्वान गरेको  प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। कृषि क्षेत्रमा आधारित व्यापार–व्यवसायमा लाग्न र देशको आर्थिक क्षेत्रको प्रवर्द्धनमा जोड दिँदै प्रधानमन्त्री दाहालले कृषि कर्मका माध्यमबाट देश समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्