बुद्ध एयरले थप्यो १८ औँ एटीआर विमान



काठमाडौँ । निजी वायुसेवा कम्पनी बुद्ध एयरले १८औँ एटीआर विमान भित्र्याएको छ । नयाँ विमान ७२ सिट क्षमतायुक्त एटीआर ७२-५०० सिरिजको हो । कम्पनी बुद्ध एयरले सो विमान शुक्रवार काठमाडौँ अवतरण गरेको हो ।

योसँगै एटीआर-७२ सिरिजको विमान सङ्ख्या बुद्धसँग १५ थान पुगेको छ । नयाँ विमान को आवश्यक कागजी प्रक्रिया पूरा गरी आगामी साउनबाट नियमित उडान सेवामा ल्याइने बुद्ध एयरले जनाएको छ ।

बुद्धले नयाँ विमानको दर्ता नम्बर ९एन-एएनजेड’ पाएको छ । यो विमान फ्रान्सको टुलुसबाट ल्याइएको हो । अब बुद्धसँग ४७ सिट क्षमताका तीन थान एटीआर४२-३२० र १५ थान एटीआर ७२-५०० सिरिजका विमान भएका छन् ।

नयाँ विमानबाट साउन १ देखि धनगढी तथा सुर्खेतमा थप एक उडान गर्ने योजना छ । हाल धनगढी तथा सुर्खेतमा दैनिक दुई उडान भइरहेको छ । थपिएको विमानबाट अन्य गन्तव्यमा पनि उडान सङ्ख्या थप्ने योजना बुद्धको छ ।

थपिएको विमान नियमित मर्मत सम्भारमा पनि सहयोगी हुने कम्पनीको भनाइ छ । बुद्धले आन्तरिकतर्फ हाल दैनिक १५० भन्दा बढी उडान गरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौँबाट भारतको बनारस उडान गरिरहेको छ । यसै गरी पोखराबाट चितवन, भैरहवा तथा नेपालगन्जका लागि अन्तर प्रदेश उडान पनि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्