आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव



रोपाइँ महोत्सव

काठमाडौँ । आज २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । कृषिमन्त्री ज्वालाकुमारी साहलगायतको उपस्थितिमा सरकारको विशेष कार्यक्रम हुँदैछ । आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवको रूपमा धान रोप्ने चलन छ ।

नेपालमा वि।सं २०६१ मङ्सिर २९ गतेको मन्त्र स्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो । धान नेपालको प्रमुख खाद्यान्न बाली र खाद्य सुरक्षाको प्रमुख आधार रहेको बाली विकास तथा कृषिजन्य विविधता संरक्षण केन्द्रले जनाएको छ ।

आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायतको महत्त्व रहेको धान बालीलाई एउटा बालीका रूपमा मात्र नभई औसत नेपालीको जीवन पद्धतिका रूपमा हेरिने गरिएको छ ।

नेपालमा धान खेतीका लागि तराई र भित्री मधेस तथा पहाडका फाँटलाई उर्वर भूमि मानिन्छ । पछिल्लो समय उन्नत जातको धान खेतीका लागि सरकारले कृषकलाई प्रोत्साहन गरेको छ भने रैथाने पुराना बीउ प्रवर्द्धनमा पनि जोड दिँदै आएको छ ।

असार १५ भनेपछि दहीच्युरा जोडिएर आउँछ । आजको दिनलाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरूले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।

औपचारिकरूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघिदेखि नै नेपालमा असार १५ गते दहीच्युरा खाने चलन चल्दै आएको थियो ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरूले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्