जनयुद्धले निम्ताएको विसंगतिः गाउँका जमिन बाँझै, सहरमा छैन खाली ठाउँ !



रुषा थापा,भक्तपुर । अहिले भनिन्छ, ‘गाउँ रित्तियो, राजधानीमा पाइला टेक्ने ठाउँ भएन ।’ गाउँका खेतबारी बाँझै रहँदा काठमाडौँ उपत्यकासहित जिल्लाका सदरमुकामहरूमा खाली जमिन भेटिनै मुस्किल छ । ०५० सालअघि उपत्यकाभित्र खेतीयोग्य जमिन प्रशस्तै थियो ।

जताततै खेतको फाँट वा बारीको पाटो थियो । त्यति बेला आनाको दश हजारदेखि पचास हजारसम्ममा जग्गा किन्नुस् भन्दा समेत कोही किन्दैनथ्यो । मानिसहरू भन्थे, ‘यहाँ जग्गा किनेर के गर्नु रु’ । ०५० सालमा उपत्यकाभित्रका खेतबारीमा धान, मकै, कोदोलगायत खाद्यान्न फलिरहेको देखिन्थ्यो । सो समयमा जग्गा प्लाटिङ वा खण्डीकरण हुदैंन्थ्यो ।

बाहिरी जिल्लाबाट राजधानीमा कमाउन आएकाहरू पनि आफ्नो गाउँघर आउजाउ गरिरहन्थ्यो । यहाँ कमाएको पैसा गाउँ लग्थे । अनि गाउँमा घर बनाउनेदेखि गोरु, भैँसी वा खेतबारी किन्ने, छोराछोरीको बिहे गर्नेजस्ता काम गर्थे । त्यति बेला सबैलाई आफ्नै गाउँघर प्यारो थियो । कमाउनेको लागि सहर आउँथे तर गाउँघर गइरहन्थे ।

आफ्नो जन्मथलो छोड्नहुन्न, धर्म, संस्कृति बिर्सनुहुन्न, बाउ बाजेको सम्पत्ति बेच्नुहुन्न वा खेतबारी बाँझो राख्नुहुन्न भन्ने त्यति बेला मान्यता थियो । त्यतिखेर धेरै जिल्लामा बत्ती, सडक, विद्यालय, अस्पताल थिएन । तैपनि मानिसहरू आफ्नो गाउँ छोड्न तयार थिएनन् । बरु उनीहरू टुक्री बत्ती बालेर बस्थे ।

यातायात सुविधा नभए पनि डोकोमा बिरामी बोकेर सहरमा उपचारका लागि ल्याउँथे । गाउँमा सेवा सुविधा केही नभए पनि त्यति बेला मानिसहरूलाई आफ्नै जन्मथलो प्यारो थियो । आफ्नो जन्मथलो छोड्नुहुन्न भन्ने मानिसहरूको सोचाई थियो । गाउँमा मकै, कोदोको ढिलो खाएर भए पनि मानिसहरूले जीविकोपार्जन गर्थे ।

कसैलाई दुःखसुख परेमा गाउँभरका मानिसहरू एकजुट हुन्थे । कसैको घरमा बिहे भएमा गाउँभर हल्ला चल्थ्यो । गाउँघरका मानिसहरू बिहेमा सामेल हुन्थे र रमाउँन्थे । त्यस्तै, कसैको घरमा कोही बितेमा गाउँघर शोक हुन्थे । त्यति बेला मानिसहरू एक अर्काको दुःख र सुखमा गाभिन्थे । कसैलाई पनि धन सम्पत्तिको लोभ थिएन ।

खुसी नै सबैभन्दा ठुलो थियो । गाउँमा जे उत्पादन हुन्थ्यो, त्यही खाएर मानिसहरू बाँचिरहेका थिए । अहिलेजस्तो मोबाइल कसैको पनि हातमा थिएन र कसैलाई आवश्यक पनि थिएन । अहिले पनि बाटोमा कुकुरहरू यत्तिकै भेटिन्छन् । तर, ती कुकुरहरू आफ्नो टोल वा बसिरहेको ठाउँबाहेक अन्य ठाउँ जादैंनन् । कुकुरहरू पनि नयाँ मान्छे वा कुकुर देख्नासाथ भुक्न थाल्छन् । एउटा कुकुरलाई समेत आफू बसेको वा जन्मेको ठाउँ यति प्यारो हुन्छ भने हामी त मानव हौँ ।

०५२ फागुल्न १ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध सुरु गरे । जनयुद्धका क्रममा माओवादीहरू गाउँ पसे । माओवादीका कार्यकर्ताहरूले गाउँमा कब्जा जमाए । त्यसपछि चन्दा उठाउन थाले । चन्दा नदिनेलाई कि त माओवादी लाग्न बाध्य बनाए त कि मारिदिए । यता, सरकारी कर्मचारीहरूलाई पनि यस्तै गरियो ।

चन्दा नदिए वा माओवादीमा नलागे मार्ने धम्की दिइन्थ्यो । माओवादीको आंतक बढ्दै गएपछि गाउँमा मानिसहरू त्रसित हुन थाले । गाउँमा बस्ने स्थिति रहेन । गाउँमा माओवादी आंतकसँगै सरकारको समेत दबदबाब चल्यो । एकातिर माओवादी ज्यान मार्ने धम्की दिँदै चन्दा उठाउने अनि चन्दा दिएको भन्दै तत्कालीन सरकारबाट खटाइएको सुरक्षाकर्मीले कारबाही गर्ने ।

माओवादी र सरकारबाट खटाइएको सुरक्षाकर्मीबाट थुप्रै सर्वसाधारणले ज्यान गुमाए । राज्यको चौथो अङ्ग मानिने सञ्चारकर्मीलाई समेत माओवादी वा सरकार पक्षमा समाचार लेखेको भन्दै मारियो । माओवादी र सर कारबिचको लडाइँमा जनता पिसिए । त्यो पनि विशेष गरी गाउँका सर्वसाधारण । अनि सबैतिरबाट दुःख दिने काम हुन थालेपछि गाउँका जनताले विकल्प खोजे ।

गाउँको विकल्प थियो, जिल्लाको सदरमुकाम या राजधानी । गाउँमा भएका आफ्ना घरजग्गा त्यत्तिकै छोडेर मानिसहरू जिल्लाको सदरमुकाम वा राजधानी बस्न आइपुगे । गाउँ फर्किने बाटो नभएपछि पैसा भएकाहरूले उपत्यका वा सदरमुकाममै घडेरी किने । माओवादी र सुरक्षाकर्मीले नलखेटेको भए त्यो पैसाले मानिसहरूले आफ्नै गाउँमै घडेरी किन्थे ।

तर, गाउँमा बस्ने स्थिति नरहेपछि मानिसहरूले अन्य जिल्लामा गएर घडेरी किने । त्यो पनि उपत्यकासहित जिल्लाको सदरमुकाममा । यसरी गाउँको जमिन बाँझै रहिरहँदा उपत्यका र सदरमुकाममा जग्गाको मूल्य ह्वात्तै बढ्यो । सोही बेलामा दलालीहरूको पनि उत्पत्ति हुन पुग्यो । तिनीहरूले जग्गा खण्डीकरण सुरु गरे । अनि रोपनीको पचास हजारमा बिक्री नभएको जग्गा आनाकै लाखौँमा खरिदबिक्री भयो ।
यसले महँगोमा जग्गा किन्ने चुर्लुम्मै डुबे त अर्कोतिर उपत्यकासहित देशभर खेतीयोग्य जमिन मासिँदै गयो । यता, दलालीहरू भने मोटाउँदै गए । यति मात्र होइन दलालीहरूले उपत्यकाभित्र वा सदरमुकामको डाँडाकाँडामा समेत डोजर चलाए । उता, यहाँका स्थानीय बासिन्दाहरूले पनि आनाको पाँच हजार नआउने जमिनको लाख आउने भएपछि धमाधम जग्गा बेचे ।

जग्गा बेच्नेहरूले त आएको पैसाले जाँडरक्सी खाएर मोज मस्ती गरे । जाँडकै कारण कतिपयले ज्यानै समेत गुमाए । तर, दलालीहरूले भने भरपूर्ण फाइदा उठाए । दलालीहरूले रोपनीका रोपनी जग्गा किने । अनि खण्डीकरण सुरु गरे । एक रोपनी जग्गामा १६ आना हुन्छ । रोपनीको लाखमा किनेर खण्डीकरण गरी दलालीहरूले आनाकै १५ लाखदेखि ३० लाखसम्ममा बेच्न थाले ।

कृषि विकास बैङ्क, नेपाल बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्क सरकारी स्वामित्वको हो । यी बैङ्कहरू पहिल्यै स्थापना भएका थिए । सरकारी बैङ्कमा बचत गर्दा थोरै ब्याज पाइन्थ्यो । तर, ०४८ सालपछि प्राइभेट बैङ्क, सहकारी, लघुवित्त, फाइनान्स ह्वात्तै खुले । यिनीहरूले बचतको महँगो ब्याज दिने प्रलोभन देखाएर सर्वसाधारणबाट पैसा उठाए । पैसा तान्ने ब्याज बढी दिनेको होडबाजी नै चल्यो ।

यति मात्र होइन बुडाबुडीलाई लौरो दिनेदेखि जन्मदिनमा केक काटिदिने र खाता खोल्नासाथ निःशुल्क बिमा भइहाल्नेजस्ता कार्यक्रम ल्याए । प्रलोभनमा परेपछि सर्वसाधारणले आफूसँग भएको पैसा प्राइभेट बैङ्क, सहकारी, लघुवित्त, फाइनान्समा जम्मा गरे । फेरि यी संस्थाहरूले सबै कर्जा घरजग्गा, गाडी र सेयरमा गरे । बैङ्कले सय रुपैयाँ कित्तामा निष्कासन गरेको सेयर दलालीहरूले ३५ सय पुर्‍याए ।

छिमेकी देशहरूमा एक लाखमा पाइने गाडी यहाँ ल्याएर ३०÷३५ लाखमा बेचियो । व्यक्ति होस् या वित्तीय संस्थाले आफूसँग भएको पैसा यी नै तीन क्षेत्रमा लगानी गरे । बजारमा केही वर्ष भइसक्यो घरजग्गा, गाडी र सेयरमा मन्दी आएको । यता, सटर, कोठा र फ्ल्याटहरू पनि खाली हुँदै गएका छन् । महँगोमा घरजग्गा, गाडी र सेयर किन्नेहरू चुर्लुम्मै डुबेका छन् ।

उनीहरू मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । सहकारीले पनि करोडौँ बचतकर्ताको खर्बौँ रकम डुबाइदिएको छ । प्राइभेट बैङ्कहरूमा बचतकर्ताहरूको रकम असुरक्षित बन्दै गएको छ । बैङ्ककै कर्मचारीहरूले बचतकर्ताको रकम हिनामिना वा चोरी गरेको घटना बाहिरिएका छन् । २०८० साउन ३० गतेको मन्त्रिपरिषद् बैङ्कले जग्गाको कित्ताकाट फुकुवा गर्‍यो ।

सेयरमा लगाइएको १२ करोडको सीमा पनि हटाइयो । गाडीलाई ५० प्रतिशत कर्जा दिने गरिएकोमा ८० प्रतिशत पुर्‍याइएको छ । घरजग्गा, गाडी र सेयरमा खुकुलो नीति बनाएसँगै अहिले यी क्षेत्रमा लगानी गर्ने कोही छैन । माओवादी शान्ति वार्तामा आएको पनि १८ वर्ष भइसक्यो ।

माओवादी शान्ति वार्तामा आएसँगै माओवादीकै नेता तथा कार्यकर्ताहरूले घरजग्गा, गाडी र सेयरमा लगानी गर्न सुरु गरेका हुन् । माओवादीले विगतमा लखेटेका जनता पनि घर फर्किएनन् । यता, नेता, कार्यकर्ताहरू पनि गाउँ फर्किएनन् । यसले गाउँ झन्झन् रित्तिँदै गयो । गाउँको घर भत्किँदै गयो त जग्गा झनै बाँझो रह्यो ।

यहाँ पैसा हुने अर्थात् नेता, सरकारी कर्मचारी, व्यापारीका छोराछोरीहरू पढ्ने नाममा अमेरिका, अस्ट्रेलियालगायत विकसित मुलुक पलायन भए । उनीहरूले पढ्ने नाममा शुरुमै तिसौं लाख लगे । गरिबका छोराछोरी कमाउन खाडी पुगे । कोही विदेश पलायन हुने त कोही सहरमै बस्ने भएपछि गाउँ रित्तियो अनि उपत्यका भरियो ।

अहिले पनि मानिसहरू आफ्नो जन्मथलो फर्किएका छन् । यहाँ एउटै कोठाको पाँच हजारदेखि २० हजार तिरेर बसिरहेका छन् । एउटा सटरको ३० हजारदेखि १८ लाख तिरेर व्यापार व्यवसाय गरिरहेका छन् । एक फ्ल्याटको ३० हजारदेखि दुई लाखसम्म तिर्छन् । यहाँ खाली सटर २० लाखदेखि ५० लाखमा किनबेच हुने गरेको छ ।

सहर महँगिँदै गए पनि मानिसहरू यही बसेका छन् । कोही पनि आफ्नो पुर्ख्यौली घर फर्किएका छैनन् । माओवादीका नेताहरूको त जीवन परिवर्तन भयो तर गाउँमा जुन परिवर्तन गछौं भनेर माओवादीले जनयुद्ध सुरु गरेको थियो । त्यस्तो केही भएन । अहिले गाउँ झनै अविकसित बनेको छ ।

किनकि गाउँका जनता सबै सहरमा छन् । गाउँका खेतबारी बाँझो छ । तर, हामी विदेशबाट खाद्यान्न आयात गरेर खान बाध्य गछौं । अनि जनयुद्धले देश र जनतालाई के फाइदा भयो रु १७ हजार नेपालीले आफ्नो ज्यान गुमाएको गाउँ रित्तिन हो र ?

हिजो जनयुद्ध सुरु गर्दा माओवादी कमाण्डर प्रचण्ड नै थिए र अहिले मुलुकको प्रधानमन्त्री पनि उनै छन् । तर, जनयुद्धले के चाहे परिवर्तन ल्यायो, प्रधानमन्त्रीज्यु रु

प्रतिक्रिया दिनुहोस्