बटलर भन्छन्- मोइन अलीलाई बलिङ नदिनु गल्ती



काठमाडौं। इङ्ल्यान्डका कप्तान जोस बटलरले सेमिफाइनलमा भारतले आफूहरूलाई हरेक विभागमा हराएको स्वीकारेका छन्। तर, उनले टस जितेर बलिङ गर्ने आफ्नो निर्णयलाई गलत मानेनन् र यसले नतिजामा खासै फरक नपार्ने बताए।

बटलरले कठिन पिचमा भारतले २० देखि २५ रन बढी बनाएको बताए। ‘यो कठिन विकेट थियो। तर, भारतीय खेलाडीहरूले राम्रो क्रिकेट खेले। उनीहरू जितका हकदार छन्,’ उनले भने।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले कप्तान रोहित शर्माको ५७ र सूर्यकुमार यादवको ४७ रनको मद्दतमा निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएको थियो। जवाफमा अक्षर पटेल र कुलदीप यादवको बलिङमा इङ्ल्यान्ड १०३ रनमा समेटियो।

यस खेलमा इङ्ल्यान्डका स्पिनर आदिल रसिद र लियाम लिभिङस्टनले आफ्नो आठ ओभरको स्पेलमा ४९ रन दिए। तर, बटलरले आफ्नो अफ स्पिन अलराउन्डर मोइन अलीलाई यो पिचमा बलिङ दिएनन्। बटलरले यसलाई आफ्नो गल्तीको रूपमा स्वीकार गरेका छन्।

‘हाम्रा दुई स्पिनरले राम्रो बलिङ गरे। जसरी पिच स्पिनमैत्री भइरहेको थियो त्यो बेला मोइनलाई बलिङमा पनि ल्याउनुपर्थ्यो। तर, लगातार वर्षाको कारण मलाई लाग्यो कि यसले थप फरक पार्छ। तर, टसले खेलको नतिजामा कुनै प्रभाव पार्छ भन्ने मलाई विश्वास छैन,’ उनले भने।

तर, बटलर आफ्नो टोलीको प्रदर्शनमा गर्व गर्छन्। उनले भने, ‘मलाई सबै खेलाडीको प्रयासप्रति गर्व छ। यस प्रतियोगिताको दौडान हामीले धेरै कठिनाइहरूको सामना गर्नुपऱ्यो तर एक समूहको रूपमा हामी सँगै उभियौँ। हामीले राम्रो क्रिकेट खेल्यौँ।’

प्रतिक्रिया दिनुहोस्