भारत र इंग्ल्यान्डबिचको खेलमा वर्षाको डर



काठमाडौँ । टी–२० विश्वकपको सेमिफाइनलमा आज भारतले इंग्ल्यान्डको सामना गर्दै छ । म्याचको दिन गुयानामा वर्षा हुने सम्भावना ७० प्रतिशत छ तर त्यहाँ कुनै रिजर्भ डे छैन ।

खेल नभएमा भारतीय टोली सुपर–८ राउन्डमा समूहको शीर्ष स्थानमा रहेकाले फाइनलमा पुग्ने छ । इङ्ल्यान्ड टोली आफ्नो समूहमा दोस्रो स्थानमा रहेकोले हार बेहोर्ने छ ।

सेमिफाइनलका लागि रिजर्भ डे नहुने भए पनि खेलका लागि २५० मिनेटको अतिरिक्त समय दिइएको छ । त्यसैले बेलाबेलामा वर्षा रोकिन थाल्यो भने खेल कुनै न कुनै रूपमा टुङ्गिन सक्छ ।

भारत र इंग्ल्यान्डको खेल गुयानाको स्थानीय समय अनुसार बिहान १०स्३० बजे सुरु हुनेछ । साढे चार घण्टाको अतिरिक्त समय थप्दा खेल पूरा गर्न साँझ ६ देखि ७ बजे सम्मको समय हुनेछ। यदि पानी पर्न थाल्यो भने, आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलमा डीएलएस विधिका लागि कम्तीमा १०–१० ओभरको खेल हुनुपर्ने हुन्छ ।

अर्थात् आजको सेमिफाइनलमा वर्षा भएमा नतिजा पाउन १०–१० ओभरको खेल आवश्यक छ । एक इनिङ्समा १० ओभर बलिङ गर्न ४५ देखि ५५ मिनेटको समय हुन्छ। १०–१० ओभरको खेल डेढ देखि दुई घण्टामा पूरा गर्न सकिन्छ । गुयानामा २ घण्टाको खेल भए पनि सेमिफाइनल पूरा हुन सक्छ ।

मौसम वेबसाइट एक्यूवेदरका अनुसार, गुयानामा आज दिनभर वर्षाको ७० प्रतिशत सम्भावना छ । सहरमा बिहान ९ बजे ४० प्रतिशत, १० बजे ६६ प्रतिशत, ११ बजे ७५ प्रतिशत र दिउँसो १२ बजे ५० प्रतिशतसम्म वर्षाको सम्भावना रहेको छ ।

खेल स्थानीय समयअनुसार बिहान १०:३० बजे सुरु हुने तालिका छ । पहिलो ३ घण्टामा ५० प्रतिशत भन्दा बढी वर्षाको सम्भावना छ। अर्थात् पूर्वानुमान अनुसार पानी परेमा खेल तोकिएकै समयमा सुरु हुने छैन ।दिउँसो १ बजेपछि गुयानामा कम वर्षा हुने सम्भावना छ । सहरमा दिउँसो १ बजे ३४ प्रतिशत, २ बजे ३४ प्रतिशत र ३ बजे ४० प्रतिशत वर्षाको सम्भावना छ । त्यसपछि साँझ ४ बजे ५१ प्रतिशत र साँझ ५ बजे ४७ प्रतिशत वर्षा हुन सक्छ।

दिउँसो केही ओभर खेलेमा साँझसम्म खेल सकिनेछ । किनभने गुयानामा साँझ ६ बजे ३६ प्रतिशत र साँझ ७ बजे मात्रै २० प्रतिशत पानी पर्ने सम्भावना छ ।

वर्षाका कारण खेल राति ८ बजेसम्म ढिलो भए पनि राति ८ बजेसम्म पनि २० प्रतिशत मात्रै वर्षाको सम्भावना रहेकाले खेल सम्पन्न गर्न सकिन्छ । यसको मतलब अतिरिक्त समयको सही सदुपयोग भयो भने २०-२० ओभरको खेल पनि जसरी पनि पूरा गर्न सकिन्छ।

खेल अतिरिक्त समयमा गएमा भारतमा टिभी र अनलाइनमा खेल हेर्ने दर्शक भोलि बिहानसम्म बस्नुपर्नेछ । किनभने गुयानामा खेल बिहान १०:३० बजे सुरु भए पनि नेपाली समय अनुसार खेल बेलुका ८:१५ बजे हुनेछ । यसको मतलब, अतिरिक्त समय सहित, यो समाप्त गर्न बिहान ४ देखि ५ बजेसम्म लाग्न सक्छ।

सेमिफाइनल रद्द भएमा भारतले फाइनलको टिकट पाउनेछ। किनभने आईसीसीको नियम अनुसार सेमिफाइनल रद्द भएमा सुपर–८ अङ्क तालिकाको शीर्ष टोली विजेता मानिनेछ । हाल दक्षिण अफ्रिका र भारत सेमिफाइनलमा आ–आफ्ना समूहका शीर्ष टोली हुन् । अफगानिस्तान र इंग्ल्याण्ड दोस्रो स्थानमा छन् ।

त्यसैले सेमिफाइनल रद्द भएमा भारत र दक्षिण अफ्रिकाबीचको फाइनल जुन २९ मा बार्बाडोसमा हुनेछ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्