अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा



काठमाडौँ । दक्षिण अफ्रिकाले आईसीसी टी२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । दक्षिण अफिका विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि एकदिवसीयमा पाँच र टी२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको थियो ।

५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे ।

त्यसअघि बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमा अल आउट भयो । अफगानिस्तानका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । आजमतुल्लाह ओमरजाईले १२ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए । गुलबदीन नैबले ९, राशिद खान र करिम जन्नतले ८–८ रन बनाए ।

यानसनको पहिलो ओभरको अन्तिम बलमा एज लागेर यस विश्वकपमा सर्वाधिक बनाउने रहमानउल्लाह गुरबाज फस्टस्लिपमा शून्यमा रिजा हेन्ड्रिक्सबाट क्याच आउट भए । अफगानिस्तान यस विश्वकपमा ओपनर गुरबाज र जद्रानको ब्याटिङमा निर्भर थियो । गुरबाज आउट भएपछि अफगानिस्तान सम्माल्लिन सकेन ।

मोहम्मद नाबी र नुर अहमद शून्यमा आउट भए । नविन उल हक र फजलहक फारुकीले २–२ रन बनाए । दक्षिण अफ्रिका जितमा तीव्र गतिका बलर मार्को यानसनले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडाले ३ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्कियाले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । तबरेज शाम्सीले १.५ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए । दोस्रो सेमिफाइनलमा आज राती इंग्ल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदै छ । फाइनल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्