नेपाली युवाहरुः धन कमाउन बिदेसिए, रगतपसिना बगाएको पैसा दलालीको लहैलहैमा परिवारले जथाभाबी लगानी गरिदिँदा फर्किए झुन्डिए !



रुषा थापा, भक्तपुर । केही वर्षयता नेपालमा वैदेशिक रोजगारका लागि बिदेसिने क्रम बढ्दो छ । गाउँदेखि सहरसम्म बिदेसिने लहर चलेको छ । कोही बाध्यताका कारण विदेश गएका छन् त कोही देखासिकी वा लहैलहैमा लागेर । झन्डै करोडको हाराहारीमा नेपाली युवा विदेशमा छन् । खाडीमा कमाउन गएका उनीहरूले दिनरात र घामपानी नभनी दुःख गर्छन् । र, यता आफ्ना घरपरिवारलाई पैसा पठाउँछन् ।

तर, त्यो पैसा घरपरिवारले सोच्दै नसोची जथाभाबी लगानी उनीहरूको पनि रुवाबासी सुरु भएको छ । छिट्टै नाफा कमाउने आसमा विदेशबाट श्रीमान्–श्रीमती वा छोराछोरीले कमाएर पठाएको रकम घरजग्गा, गाडी र सेयरमा लगानी गरे । कोहीले सहकारी, लघुवित्तमा समेत पैसा जम्मा गरे । वित्तीय संस्था (सहकारी, लघुवित्त र फाइनान्स) हरुले बचतको २२ प्रतिशतसम्म ब्याज दिने प्रलोभन देखाए ।

त्यहीँ लोभमा परेर मानिसहरूले सोच्दै नसोची आफूसँग भएको वा विदेशबाट पठाइएको रकम वित्तीय संस्थामा जम्मा गरे । यता, कतिपयले मिटर ब्याजमा समेत पैसा लगानी गरे । एक लाखको मासिक दश हजारदेखि तीस हजारसम्म ब्याज दिन्छु भनेपछि उनीहरूले पनि पैसा दिए । त्यस्तै, घरजग्गा, गाडी र सेयर दलालीहरूले पनि विभिन्न आश्वासन वा प्रलोभन देखाएर यस क्षेत्रमा लगानी गर्न बाध्य बनाए ।

अनि सुरु भयो डुब्ने प्रक्रिया । विदेशबाट श्रीमान् वा श्रीमती, छोराछोरीले कमाएर पठाएको रकम उनीहरूलाई नै सोध्दै नसोधी घरजग्गा, गाडी र सेयरमा लगानी गरियो । दलालीहरूको लहैलहैमा लागेर आनाको एक लाख नपर्ने खेतीयोग्य जमिन ४५ लाखमा खरिद गरियो । बैङ्कले सय रुपैयाँमा निष्कासन गरेको सेयरलाई पाँच हजारसम्म हालियो त भारतमा एक लाख नपर्ने गाडी यहाँ ३० लाखमा किनियो ।

अहिले यो क्षेत्रमा गरिएको लगानी डुबेपछि कतिपयले विदेशबाट फर्किएर आत्महत्या गरेका  छन् त कतिपयको घरपरिवार नै लथालिङ्ग बनेको छ । यहीँ कारणले कयौँ श्रीमान्–श्रीमतीबिच सम्बन्ध विच्छेद भएको छ त कतिपय घरपरिवार नै अलग्गिएका छन् । जीवनभर विदेशमा बसेर कमाएको रकम डुबेपछि कतिपयले सहन नसकेर आत्महत्या, हत्या समेत गरेका छन् । अहिले करोडौँ जनताको घरमा यस्तो अवस्था सिर्जना भएको छ ।

हरेकको घरमा तनाव छ । सहकारीमा बचत गरेका बचतकर्ताहरू निक्षेप डुबेपछि कहिले आन्दोलन त कहिले अनशन बस्छन् । कतिपयले त आत्महत्या समेत गरिरहेका छन् । अहिले बैङ्कको अवस्था पनि सहकारीजस्तै भइसकेको छ । बजारमा सर्वसाधारण भन्छन्, ‘राष्ट्र बैङ्क बैङ्कमा पैसा थुप्रियो भन्छ तर कर्जा माग्न जाँदा बैङ्क दिँदैन ।’ बैङ्कमा पैसा छैन भन्यो भने बचतकर्ताले पैसा निकाल्ने त्रासमा बैङ्कसहित सरकार नै भ्रमको खेती गरिरहेको छ । तीन वर्षअघि सहकारीमा समस्या देखिएको थियो । सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको खबरहरू बाहिरिए ।

तर, राष्ट्रिय सहकारी महासङ्घसहित सरकारकै सम्बन्धित निकाय तथा प्रतिनिधिहरूले सहकारी ठिकठाक रहेको दाबी गरे । अहिले सबै सहकारी डुबेका छन्, भागेका छन् । सहकारीका कारण बचतकर्ताहरूको रुवाबासी चलेको छ । बचत फिर्ता माग गर्दै उनीहरू दिनरात आन्दोलन गरिरहेका छन् । अब बैङ्कको पनि हालत सहकारीजस्तै हुने देखिन्छ । किनकि बैङ्कले भ्रमको खेती गरिरहेको छ ।

०४६ सालमा राजनीतिक परिवर्तन भयो । पञ्चायती व्यवस्था हटेर बहुदलीय व्यवस्था आएसँगै विदेश जान खुल्ला गरियो । त्यसअघि सरकारले आफ्ना देशका नागरिकलाई अन्य देशमा काम गर्नका लागि पठाउँदैनथ्यो । तर, बहुदलीय व्यवस्थासँगै पैसा हुने विकसित मुलुक त पैसा नहुने खाडी जाने क्रम बढ्यो । विदेश खुलेको झन्डै ३६ वर्ष भयो । यो अवधिमा करोडौँ नेपाली जनता विदेश गएका छन् ।

अहिले पनि मासिक लाखौँ नेपाली युवाहरू विदेश गइरहेका छन् । नेपालीहरूले विदेशमा रगतपसिना बगाउँछन् अनि यहाँ पैसा पठाउँछन् । सरकार यति रेमिट्यान्स भित्रियो भन्छ अनि त्यो पैसाले पनि सरकारी कर्मचारी र नेताहरू मोज मस्ती गरिरहेका छन् । पञ्चायती व्यवस्थामा सरकारमाथि कुनै पनि विदेशी ऋणको बोझ थिएन । अहिले विदेशी ऋण नेपाल सरकारले २७ खर्ब लिइसक्यो । प्रत्येक नेपालीको टाउकोमा लाखौँ रुपैयाँ विदेशी ऋण छ ।

रोचक कुरा त के छ भने विदेशमा कमाएर नेपालीले यहाँ पठाएको रकम कहाँ गयो रु सरकार रेमिट्यान्स बढ्दै गएको बताउँछ । तर, रेमिट्यान्स बढ्दै गएको हो भने किन यत्रो विदेशी ऋण लिएको रु अहिले अवैध तरिकाले समेत विदेशबाट नेपालमा पैसा पठाउने गरिएको छ । अनि दलालीको लहैलहैमा लागेर त्यो रकमले यहाँ घरजग्गा, गाडी र सेयरमा लगानी गरिन्छ । दलालीकै विश्वासमा परेर धेरै सर्वसाधारण अहिले डुबेका छन् ।

अहिले देश र जनता दुवै कङ्गाल भएका छन् । अनि विदेश गएर के फाइदा भो रु विदेश गएर उल्टै धेरैको घरपरिवार लथालिङ्ग बनेको छ । जनता सुख खोज्दै बिदेसिए तर उनीहरू दलालीहरूबाट ठगिए । नेताहरूको उनीहरूको पठाएको रेमिट्यान्समा मोज मस्ती गरे । अहिले देश विदेशी ऋणमा डुबेको छ । विदेश गएका नेपालीहरूको पैसा पनि घरजग्गा, गाडी, सेयर र वित्तीय संस्थामा फसेको छ । नेपालीहरू धन कमाउन बिदेसिए । दशैं वर्ष विदेशमा रगतपसिना बगाएर कमाए । विडम्बना, यहाँ फर्किएर आउँदा घरजग्गा, गाडी, सेयर र सहकारीमा रकम डुबेको थाहा पाएपछि कोही झुन्डिए त कोहीको घरपरिवार नै लथालिङ्ग बन्यो ।

अहिले बजारमा बुढा नेताहरूबाट केही हुन्न भन्ने व्यापक चर्चा छ । बुढा नेता भन्नासाथ केपीशर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, राजेन्द्र लिङ्देन, झलनाथ खनाल, बाबुराम भट्टराईलाई चिनिन्छ । यीनीहरुबाट देश विकासतर्फ नजाने आम नागरिक बताउँछन् । तर, आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलिया पठाएर यता बसेर बुढा नेताहरूबाट केही हुन्न भन्छन् ।

अधिकार खोज्न कर्तव्य पनि पूरा गर्नुपर्छ । अनि आफ्नो कर्तव्य नै पूरा नगरी अधिकार लिन पाइन्छ ? यदि बुढा नेताहरूबाट केही हुन्न भने आफ्ना जवान छोराछोरीलाई राजनीतिमा लगाउनुपर्यो । बिडम्वना, यहाँ त आफ्ना छोराछोरी १२ पास गर्ने बित्तिकै लाखौँ खर्चिएर अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत विकसित मुलुक पठाइन्छ । अनि छोराछोरी त्यहाँ र आमाबुवा यहाँ बसेर देश विकास भएन भन्छन् ।

अहिले घरजग्गा, गाडी र सेयरमा जतिपनि मानिस फसेका छन्, ती सबै शिक्षित छन् । भनिन्छ नि लोभले लाभ, लाभले विलाभ । शिक्षित मानिसहरूले नै छिट्टो फाइदा कमाउन घरजग्गा, गाडी र सेयरमा लगानी गरे । ब्याजको लोभमा सहकारीमा बचत गरे । हिजो फाइदा हुनुञ्जेल मज्जाले कमाए पनि अनि अहिले डुबेपछि सरकारलाई दोष दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्