बाल यौन दुराचारमा रामबहादुर बम्जन दोषी ठहर



काठमाडौँ । तपस्वी रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसुरमा दोषी ठहर भएका छन् । जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई दोषी ठहर गरेको हो ।

रामबहादुरसँगै तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन र जेबी गुरु भनिने जितबहादुर तामाङ पनि दोषी ठहरिएका छन् । ज्ञानकुमार र जितबहादुरलाई मतियारको रूपमा सजाय मागदाबी गर्दै अदालतमा अभियोग पत्र पेश भएको थियो ।

बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २४ पुस २०८० मा काठमाडौँबाट पक्राउ गरेको थियो । सर्लाही अदालतले २७ पुस २०८० मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ । उनीहरू सबैलाई सिन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान छ । सर्लाहीस्थित आश्रममा बाल यौन दुराचार भएको जाहेरी थियो ।

महिला अधिकारकर्मीको सहयोगमा ३० भदौ २०७६ मा ललितपुरमा पत्रकार सम्मेलन गर्दै एक १८ वर्षीया युवतीले बम्जनले पटकपटक बलात्कार गरेको खुलासा गरेकी थिइन् । त्यसपछि प्रहरी कहाँ पनि यो विषयमा उजुरी परेको थियो ।

प्रहरीले २०७६ पुसमा सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँमा रहेको तोड्के जङ्गलमा छापा हानेको थियो । जहाँ बेपत्तामध्ये सञ्चलालको हत्या भएको हुनसक्ने आशंकामा छ । तर, प्रहरीले प्रमाण फेला पार्न सकेन ।

करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटिएपछि उत्खनन गर्दा ९ वटा नुनको प्याकेट पनि भेटिएको थियो, जुन शव गलाउन प्रयोग गरेको हुनसक्ने अनुमान थियो ।

प्रतिक्रिया दिनुहोस्