पोर्चुगल युरोको अन्तिम १६ मा



काठमाडौँ । लगातार दोस्रो जित दर्ता गर्दै पोर्चुगल युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा पोर्चुगलले टर्कीलाई ३-० ले सहजै पराजित गरेको हो ।

पोर्चुगलका लागि बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले १-१ गोल गरे भने १ गोल आत्मघाती गोल रहेको थियो ।

२१औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । नुनो मेंडेसको क्रस टर्किस डिफेन्डरलाई लागेर बक्स भित्रबाट सिल्भाको अघि पुगेपछि उनले गोल गरेका थिए ।

२८औँ मिनेटमा आत्मघाती गोलका रूपमा पोर्चुगलको दोस्रो गोल आएको थियो । टर्किस डिफेन्डर समेत अकायदिनले आफ्नो गोलकिपरलाई दिएको ब्याकपास दुई जनाको तालमेल नमिलेपछि सिधै पोस्टभित्रबाट पुगेको थियो ।

पोर्चुगलको तेस्रो गोल ५६औँ मिनेटमा गर्यो । जोआओ क्यान्सेलोको थ्रु-पासमा बनेको मौकामा क्रिस्टियानो रोनाल्डोले ब्रुनो फर्नान्डेजका लागि सहज मौका सिर्जना गर्दिएका थिए । फर्नान्डेजले सहजै गोल गर्न सफल रहे ।

जित पछि समूह एफमा पोर्चुगलको २ खेलमा ६ अङ्क भएको छ । टर्कीको २ खेलमा ३ अङ्क छ भने जर्जिया र चेकियाको १-१ अङ्क छ । समूह चरणका अन्तिम खेलमा पोर्चुगलले जर्जिया र टर्कीले चेकियाको सामना गर्नेछन् ।

समूह ई अन्तर्गत बेल्जियम र रोमानिया आज राति १२:४५ बजे भिड्दै छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्