सुदूरपश्चिमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार



काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ ।  मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । वैशाख ६ मा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री र स्वतन्त्र प्रदेश सभा सदस्य डा।ताराप्रसाद जोशीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त गरेका हुन् ।

एमालेका वीरबहादुर थापा, हीरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तको भने मन्त्रालय तोकिएको छैन ।

प्रदेश प्रमुख कार्यालयले मुख्यमन्त्री सोडारीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको नाम सिफारिस गरेको पुष्टि गरेको छ । नवनियुक्त मन्त्रीहरूको सपथ साँझ ५ बजे तय गरिएको छ । मुख्यमन्त्री सोडारीले मन्त्रालय विभाजन गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका थिए तर सत्तारुढ दलभित्रै मन्त्रालय विभाजन गर्न नहुने, गरेपनि आवश्यक गृहकार्य गरेर गर्नुपर्ने दबाब बढेपछि उनी रोकिएका हुन् ।

सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई आर्थिक मामिला मन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्