बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल गर्दै काँग्रेस नेताहरू



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध अन्त्यको प्रयासमा नेपाली काँग्रेसका नेताहरूसँग संवाद जारी राखेका छन् । उनले आज बिहानै महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरूलाई बालुवाटारस्थित निवासमा बोलाएर छलफल गरिरहेका छन् ।

आज संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा सरकार रहेको छ । सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । आफ्ना माग सम्बोधन नभए राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि अवरोध हुनसक्ने चेतावनी काँग्रेसले दिएको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न सङ्घीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त आज दिउँसो ३ बजे बस्दै छ । उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ ।

त्यो बैठकमा कसरी प्रस्तुत हुने भनेर तय गर्न काँग्रेस संसदीय दलको बैठक मङ्गलवार बिहान ९ बजे बस्दै छ । त्यसअघि काँग्रेस नेताहरू प्रधानमन्त्री प्रचण्डसँग छलफलमा बसेका हुन् ।

प्रतिक्रिया दिनुहोस्