सुन तस्करीमा संलग्नलाई उन्मुक्ति दिनेलाई पनि कानुनी दायरामा  ल्याइने : गृहमन्त्री रवि लामिछाने



काठमाडौँ । सरकारले सुन तस्करीबारे छानबिन गर्न बनाएको उच्च स्तरीय आयोगको प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अनुसन्धानमा जुनसुकै किसिमको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध  पनि कारबाही गरिने बताएका छन् ।

अनुसन्धान गर्ने निकायले कतिपयलाई जोगाएको आरोप लागेका सन्दर्भमा छानबिन समितिको प्रतिवेदन अनुसार उनीहरूलाई कारबाहीको दायरामा ल्याउने लामिछानेले बताएको उनको सचिवालयले जनाएको छ ।

लामिछानेको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जारी गरेको नोटमा भनिएको छ,  ‘विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानुनको मातहतमा ल्याउनेछु । प्रतिवेदन कार्यान्वयनको चुनौती म आफैँले सामना गर्नेछु ।’

आयोगका अध्यक्ष डिल्लीराज आचार्यको नेतृत्वमा गएको आयोगका पदाधिकारीले बिहीबार ४८५ पृष्ठको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझेपछि उनले आफूले प्रतिपक्षमा रहँदा समेत आयोगलाई लिखित सुझावहरू बुझाएको स्मरण गराएका थिए ।

सुन तस्करीमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क भएका कर्मचारी र प्रहरीबारेको डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट पनि आयोगले अध्ययन गरेको थियो । सुन तस्करी प्रकरणमा सीआईबीले कागज गराएर छाडेका २१ जनालाई आयोगले बयान गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्