विराट कोहलीले विश्वकपमा रचे इतिहास, तोडे सचिनको २० वर्ष पुरानो कीर्तिमान



विराट कोहली

काठमाडौँ । भारतीय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीले मुम्बईको वानखेडे स्टेडियममा आफ्नो आइडल सचिन तेन्दुलकरलाई पछाडि छोडेका छन् । बुधवार एकदिवसीय विश्वकप २०२३ को सेमिफाइनलमा न्युजिल्यान्ड विरुद्ध विराट कोहलीले ८० रनको आँकडा छुन्ने बित्तिकै उनले सचिन तेन्दुलकरको २० वर्ष पुरानो कीर्तिमान तोडे । विराटले यो विश्वकपमा अहिलेसम्म ६ सय ७४ रन बनाएका छन् । योसँगै उनी एकदिवसीय विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् ।

यसअघि यो कीर्तिमान सचिनको नाममा थियो जसले सन् २००३ मा दक्षिण अफ्रिकामा भएको एकदिवसीय विश्वकपमा ६७३ रन बनाएका थिए । २० वर्षसम्म यो कीर्तिमान कसैले तोड्न सकेनन् तर कोहलीले सचिनको यो कीर्तिमान तोडेका छन् । विराटले ३४ औँ ओभरको तेस्रो बलमा एक रन लिएर सचिनको कीर्तिमान तोडे ।

प्रतिक्रिया दिनुहोस्