राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका, जमरा, प्रसाद र आशीर्वाद  ग्रहण गरेका छन् । साथै गुरु पुरोहितबाट पनि दसैँको दीका, जमरा, प्रसाद ग्रहण गरेका हुन् ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति पौडेलले दसैँको शुभ साइत ११ बजेर २ मिनेटमा टीका प्रसाद ग्रहण गरे । आफू टीका ग्रहण गरेपछि उनले परिवारका सदस्यलाई टीका लगाइदिएका हुन् ।

विजया दशमीका अवसरमा आज राष्ट्रपति पौडेलले अति विशिष्ट व्यक्तित्वहरूलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणका लागि ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा विजया दशमीको दिन शीतल निवास राष्ट्रपति कार्यालय सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, सांसद, संवैधानिक निकायमा प्रमुख एवम् विशिष्ट व्यक्तित्वहरूलाई २ बजेदेखि ३ बजेसम्म  टीका प्रसाद ग्रहण गर्ने र सर्वसाधारणका लागि ३ देखि ५ बजेसम्म टीका प्रसाद गर्ने कार्यक्रम तय गरिएको हो । अति विशिष्ट, विशिष्ट तथा सर्वसाधारणका लागि टीका प्रसाद ग्रहण गर्न आउँदा मर्यादित पोषकमा १ नम्बर प्रवेशद्वारबाट आउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्