सुन तस्करीमा संलग्न चिनियाँ नागरिकको साथमा नेपाली नागरिकता



काठमाडौँ । ६० किलो सुन प्रकरणमा सीआईबीको नियन्त्रणमा रहेका थप एक जना चिनियाँ नागरिकको साथमा नेपाली नागरिकता  बरामद गरेको छ ।  चिनियाँ नागरिक याओ पुचेङ्गउर्फ ‘एलेक्स’ को साथमा पनि नेपाली नागरिकता भेटिएको सीआईबीले जनाएको छ ।

एलेक्सको साथबाट प्रहरीले भारतीय आधारकार्ड पनि बरामद गरेको थियो । एलेक्सले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको भेटिएको छ । त्यसबारे प्रहरीले अनुसन्धान थालेको छ ।

एलेक्ससँगै सुन तस्करीमा संलग्न आरोपमा पक्राउ गरिएका ५ जनाको साथमा नेपाली नागरिकता भेटिएको छ । तिब्बतियन मुलका बेल्जियन नागरिक दावा छिरिङले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको पुष्टि भएको छ ।

गृह मन्त्रालयका उपसचिव कृष्णबहादुर कटुवाल नेतृत्वको छानबिन समितिले दावाको नागरिकता छानबिन गरेर रिपोर्ट बुझाएको छ । गृह मन्त्रालयले दावाको नागरिकता खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ ।

काभ्रेबाट नागरिकता लिनेमा चिनियाँ नागरिक लि–नेङकाई र डिङ सेग्फा छन् । चिनियाँ नागरिक ली वेन सुङले छिरिङ लामाको नामबाट जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिएको भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्