सत्तारुढ दलहरूकै विवादका माझ आगामी आर्थिक वर्षको बजेट दुवै सदनबाट पारित



काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान रकम (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ ।

राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो । सरकार अर्थमन्त्री प्रकाश शरण महतले गएको १५ जेठमा सो बजेट प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।

आजको बैठकमा अर्थमन्त्री डा प्रकाश शरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।

प्रतिनिधिसभाबाट १३ आषाढमा आगामी आवको बजेट पारित भएको थियो । । सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित भएसँगै आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयनको बाटो खुलेको छ ।

विवादमा रहेको बजेटमा लामो समयसम्म प्रतिनिधिसभामा छलफल चलेको थियो । बजेटमा छलफल भए पनि बजेट जस्ताको त्यस्तै पास भएको हो । अगामी आर्थिक वर्षको बजेटलाई लिएर सरकारको आयुमा समेत प्रश्न तिह् खडा भएको थियो । सरकारमा रहेका सत्ताधारी दलहरूले नै सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सीमित जिल्लामा मात्रै भएको भन्दै सरकारले बजेट नसच्याए सरकारको सरकारलाई दिएको समर्थनका विषयमा सोच्नु पर्ने बताएका थिए ।

विभिन्न विवादका माझमा सरकारको आगामी आर्थिक वर्षको बजेट आज पारित भएसँगै बजेटका विषयमा लिएर सरकारको आयुमा उठेका प्रश्नहरू भने सेलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्