काँग्रेस सभापति देउवाको गृह जिल्ला डडेल्धुरामा बजेटकाे ओइरो



डम्मर धामी, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा बजेटको ओइरो लगाएको आरोप  लागेकाे छ ।  यस पटक डडेल्धुराका लागि सङ्घीय सरकारले अघिल्लो आर्थिक वर्षको तुलनामा ६ गुणा बढी बजेट विनियोजन गरेको हो ।

सङ्घीय सरकारले देशभरमै डडेल्धुराका लागि सबैभन्दा बढी बजेट विनियोजन गरेको छ । वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत डडेलधुरामा एक अर्ब १० करोड बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०७९/८० का लागि १७ करोड बजेट विनियोजन गरिएकोमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब १० करोड बजेट विनियोजन गरिएको हो। देशका ७७ जिल्लामध्ये देउवाको गृह जिल्ला डडेलधुरामा मात्रै २१ प्रतिशत अर्थात् १ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम सुरुदेखि नै डडेल्धुरामा केन्द्रित थियो । यसै पनि कार्यक्रमका अधिकांश सडक स्थानीय स्तरका छन् । पालिका र प्रदेश तहले नै हेर्न सक्ने योजनालाई सङ्घीय बजेटमा पार्ने काम भएको छ ।

सङ्घीय सरकारले कुन पालिकालाई कति बजेट छुट्याएकोे छ ? 

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सङ्घीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत सङ्घीय सरकारले ६ वटा महानगरपालिकासहित ११ वटा उप–महानगरपालिका, नगरपालिका र गाउँपालिका गरी ७५३ वटै स्थानीय तहलाई राजस्व बाँडफाँड तथा अनुदान बापत उक्त रकम उपलब्ध गराएको हो ।

आगामी आर्थिक वर्षका लागि सरकारले डडेल्धुरा जिल्लाको सबै भन्दा धेरै बजेट परशुराम नगरपालिकाका लागि विनियोजन गरेको छ । परशुराम नगरपालिकाका लागि ४६ करोड ७४ लाख बराबरको बजेट विनियोजन गरेको छ । अमरगढी नगरपालिकाको लागि ३४ करोड ६७ लाख, अजैमेरू गाउँपालिका लागि ३२ करोड ५३ लाख, अलिताल गाउँपालिका लागि २९ करोड ५७ लाख, नवदुर्गा गाउँपालिका लागि २८ करोड ८२ लाख, गन्यापधुरा गाउँपालिका लागि २५ करोड ९१ लाख र भागेश्वर गाउँपालिका लागि २९ करोड १९ लाख बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले कति बजेट विनियोजन गर्याे ? 

प्रदेश सरकारले पनि डडेल्धुरामा सम्भाव्य पर्यटक स्थलहरूको विकासमा पहल गर्ने कदम चालेको छ । हिमाली क्षेत्रबाट भइरहेको बसाइसराई न्यूनीकरण गर्न प्रदेश प्रमुख एकीकृत बस्ती विस्तार अन्तरगत डडेल्धुराको रुपाल र बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका एकीकृत पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले ५ करोड बराबरको बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारलाले डडेल्धुरा को जोगबुढामा रहेको अस्पताललाई प्रदेश स्तरीय अस्पतालको स्तरोउन्नतीका लागि पनि बजेट विनियोजन गरेको छ । त्यसतै प्रदेश सरकारले महाभारतलाई विशेष संरक्षण गर्न बजेटको व्यवस्था गरेको जनाएको छ ।

सरकारको आलोचना 

सरकारका अर्थमन्त्री प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/९८१ क लागि  १५ जेठमा सरकारको बजेट प्रतिनिधिसभामा प्रस्तुत गरेका थिए । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियाे । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को भन्दा ४२ अर्ब कम बजेट ल्याएको छ । चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

सरकारले बजेट ल्याए पनि बजेट भने पास हुन सकेको छैन । सरकारमा रहेका पार्टीहरूको विरोधका कारण बजेटका विषयमा विवाद उत्पन्न भएको छ । नेपालको बजेटको सिलसिलामा इतिहास नै होला  सरकारकाले ल्याएको बजेट  सरकारमा रहेका दलहरूका कारण संशोधन गर्नु पर्ने । उक्त दृश्य भने  यस पटकको बजेटमा देखिने भएको छ ।

सरकारमा रहेका दलहरूले सीमित मन्त्री तथा  नेताहरूको गृह जिल्लामा मात्रै बजेट गएको भन्दै सरकारकै आलोचना गरिरहेका छन् । सरकारमा रहेका दलहरूले  सरकारले संसद्मा प्रस्तुत गरेको बजेट संशोधन नगरे पास नहुने र आफूहरू सरकारबाट नै बाहिरिने चेतावनी समेत दिएका छन् । यसै बीच सरकारमा रहेका दलहरूमाझ  बजेट संशोधन गर्ने सहमति पनि भएको छ ।

प्रतिपक्षमा रहेका दलहरूले भने सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले देशको विद्यमान सङ्कटलाई सम्बोधन नगरेको र हचुवा भरमा सरकारले बजेट ल्याएको आरोप लगाएको छ ।  नयाँ करका विषयलाई लिएर सरकार आफ्नो निर्णयबाट पछि हटिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्