आफ्नै देशका नागरिकलाई अनागरिक बनाई विदेश पठाउनेहरू देशद्रोही हुन् : माधव नेपाल 



वीरगन्ज । नेकपा एकीकृत समाजवादी पार्टी (एस) का अध्यक्ष माधव कुमार नेपालले नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा सरकारले चालेको कदमको सह्राना गरेका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल पर्साले सोमवार वीरगन्जस्थित होटेल मकालुमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर अर्को देशको नक्कली पहिचान बनाएर विदेश पठाउने कामलाई राष्ट्र द्रोहीको संज्ञा दिएका छन् ।

देशको मान, सम्मान र मर्यादामा आँच पु¥याउने भ्रष्टाचार प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए । ‘राजनीतिको आडमा ठगी खाने पेसा बनाउनेहरूलाई कुनै पनि हालतमा संरक्षण गर्नु हुँदैन, दण्डित गर्नुपर्छ’, उनी थप्छन्, ‘अहिलेसम्म सरकारले जुन कदम चालेको छ, एकदमै सह्रानीय छ । यही कामलाई निरन्तरता दियोस् । अन्तिम समयसम्म पनि सरकारले खुट्टा कमाउनु हुँदैन ।’

हाम्रो जस्तो सांस्कृतिक एवम् प्राकृतिक सम्भावना तथा वीरहरूको इतिहास बोकेको देशमा अत्यन्तै निन्दनीय काम गर्ने व्यक्तिहरू हुनु विडम्बना भएको उनको बुझाई छ । साथै उनले अहिलेको समयमा पनि दलित भएकै कारण विभेद भोग्नुपरेका अमानवीय घटनाहरू भइरहेको बताउँदै सङ्कुचित मानसिकताको अन्त्य गर्न पनि आग्रह गरेका छन् ।

मीटरब्याजीबाट पीडित रहेकाहरूलाई न्याय दिलाउने काममा पनि सरकारले सही कदम चाल्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सुखी नेपाली समृद्ध नेपालको परिकल्पनालाई सार्थक पारेर समुन्नत देश बनाउने अभियानमा सबैले हातेमालो गर्नुपर्ने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन पर्साका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा एसका केन्द्रीय सचिव एवम् पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी, पार्टीका केन्द्रीय सदस्य एवम् पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा, महानगर कमिटी अध्यक्ष मनोज चौधरी, दलित मुक्ति सङ्गठनका केन्द्रीय अध्यक्ष गणेश बि।क।, समाजवादी प्रेस सङ्गठनका केन्द्रीय उपमहासचिव रामकुमार ऐलन लगायतको उपस्थिति रहेको थियो ।  पत्रकार सम्मेलनको सहजीकरण समाजवादी प्रेस सङ्गठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्