अयोग्य लडाकुलाई ऋण दिनु राम्रो हुन्छ : माधव नेपाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी पूर्व अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिन  राम्रो हुने बताएका छन् । अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने भनी सरकारले गरेको निर्णयमा उनले  लडाकुहरूलाई रोजगारी र ऋण उपलब्ध गराउनु राम्रो हुने  बताएका छन् ।

धनगढीमा पत्रकारहरूको प्रश्नको जवाफ नेपालले भने, ‘यसबारे कुरा उठेकै हो । यस्तो बेला पैसा दिनुपर्ने कुनै विषय नै छैन । पीडितहरूलाई बरु रोजगारी, ऋण दिने कुरा राम्रो हुन्छ ।’ उनले आफूले अहिलेको देशको अवस्थालाई हेरेर उक्त पैसा बाड्ने सरकारको निर्णय राम्रो नभएको बताएका हुन् ।

उनले भने , ‘अर्थतन्त्रको अवस्था कसरी सुधार गर्ने भन्नेबारेमा हाम्राबिचमा गम्भीर रूपमा छलफल भइराखेकै छन् । नयाँ ढङ्गले सोच्नुपर्ने भएको छ । कम खर्च कसरी गर्ने, अनावश्यक खर्च नियन्त्रण गर्ने, अनावश्यक परियोजना सबै रोक्नुपर्छ । पैसा बाँड्ने होइन उत्पादनमुखी क्षेत्रमा लगाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्