गठबन्धनका दललाई देउवाले भने : ‘हामी धोका दिन्नौं’



काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावतर्फ संकेत गर्दै धोका नदिने बताएका छन् । सत्तारुढ दलहरुले स्थानीय चुनावमा तालमेल प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् ।

सत्तारुढ पाँच दलले स्थानीय चुनावमा देशभर तालमेल गर्ने निर्णय गर्दै महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा केन्द्रीय स्तरबाटै गरेका थिए । तर कतिपय ठाउँमा तालमेल नै भएन भने तालमेल भएका पालिकाहरुमा समेत बागी उम्मेदवारी परेको थियो । चुनावको समीक्षा गर्न सोमबार बालुवाटारमा बसेको बैठकमा दलहरुले तालमेल प्रभावकारी नभएको गुनासो गरेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतले कांग्रेस स्वयंले तालमेलको पालना नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

जवाफमा प्रधानमन्त्री देउवाले भने पार्टीभित्र मतभेद भएका कारण पनि तालमेल प्रभावकारी हुन नसकेको बताएका छन् । उनले अघि भने, ‘तर हामी धोका दिन्नौं ।’छलफलका क्रममा नेताहरुले तालमेल प्रभावकारी भएको भए एमाले थप कमजोर हुन्थ्यो भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्