देशमा अनेक किसिमका गफाडीहरु जन्मिए : माधव नेपाल



हेटौंडा । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशमा गफाडीहरू जन्मिएको बताएका छन् । मंगलबार नेकपा एस मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरूलाई बधाई तथा मतदाताहरूलाई धन्यवाद कार्यक्रममा बोल्दै नेपालले देशमा अनेक किसिमका गफ दिने गफाडीहरू जन्मिएको बताएका हुन् ।

उनले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई इङकित गर्दै रेल ल्याउँछु, के ल्याउँछु भन्दै गफ दिएको बताएका हुन् ।

‘जनताले के के न आउला भनेर आस गरे तर केही पनि आएन’ उनले भने । उनले हेटौंडाको मेयरमा निर्वाचित मीना कुमारी लामालाई बधाई दिँदै विगतमा हेटौंडाको मेयरहरूले गरेका राम्रा कामहरूलाई आत्मसाथ गर्दै काम गर्न आग्रह गरेका छन् । ‘जनता र नेताको सम्बन्ध भनेको नङ र मासु जस्तै हो,’ उनले भने ‘जनतासँगको सम्बन्धलाई बलियो बनाउनुस्, ।’ उनले आउँदो मंसिरभित्र  नै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् ।

आठ महिनाको छोटो अवधीमा यो उपलब्धि पार्टीको सानो उपलब्धि नभएको बताएका छन् ।

‘शक्ति र सङ्गठनलाई निर्माण गर्नुपर्दछ, असल गुण भएकाहरूलाई सम्मान गर्नुपर्दछ, उनले भने ‘हामीले असल मानिसहरको खोजी गरिरहेका छौं, युवा पिढी खोजीरहेका छौं ।’ उनले आफ्ना कार्यकर्ताहरूलाई धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र निर्वाचित भएका हर्कराज राई साम्पाङजस्तै बन्न आग्रह समेत गरेका छन् । असल गुण भएको मान्छेलाई सम्मान गर्नुपर्ने भन्दै कार्यकर्ता र नवनिर्वाचित जनप्रतिनिधिहरूलाई पनि सोहीअनुसार काम गर्न निर्देशन दिए ।

‘विभिन्न ठाउँमा कुनै गठबन्धनको सहयोग बिना नै हाम्रो सिंगो प्यानल विजयी भएको छ,’ उनले भने ‘गठबन्धनको प्रत्येक घटकहरूले चुनावमा भाग लिएका थिए तर सबैले आ–आफ्नो हैसियत मत परिणाममा देखेका छन् ।’ 

प्रतिक्रिया दिनुहोस्