रुसले शान्ति वार्ता विपरित आक्रमण जारी राखेको युक्रेनको आरोप



किभ । रुसले शान्ति वार्ताका क्रममा गरेको सम्झौता विपरित आक्रमण जारी राखेको युक्रेनले आरोप लगाएको छ । युक्रेनको चेर्निहिभ क्षेत्रका गभर्नरले त्यहाँ सैन्य गतिविधि कम गर्ने वाचा गरेपनि रुसले आफ्नो आक्रमणमा कुनै परिवर्तन नगरेको बताएका छन । गभर्नर भिचास्लाभ चाउसले टेलिग्राम म्यासेजिङ एपमा रुसले आफ्नो वाचा पूरा नगरेको भन्दै निन्दा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गभर्नर चाउसका अनुसार रुसले चेर्नीहिभ क्षेत्रमा रातभर बमबारी गरेको थियो । रुसले राजधानीबाट आफ्नो फौज फिर्ता गर्ने प्रतिबद्धता गरेको केही घण्टापछि बुधबार सबेरसम्म पनि किभमा हवाई गस्तिका साइरनहरू सुनिएको बताइएको छ । टर्कीको इस्तानबुलमा भएको शान्ति वार्तापछि रुसले मङ्गलवार उत्तरी युक्रेनको किएभ र चेर्नीहिभ क्षेत्रहरूमा आफ्नो सैनिक गतिविधिलाई ठूलो मात्रामा कटौती गर्ने प्रतिबद्धता जनाएको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्सकीले वार्ताका प्रारम्भिक सङ्केतहरू सकारात्मक भएतापनि रुसले आफ्नो आक्रमणलाई जारी राखेको निन्दा गरेका छन् । रुस आक्रमणको मुख्य उद्देश्य युक्रेनलाई नेटो गठबन्धनमा सदस्य हुनबाट रोक्नु रहेको अनुमान गरिएको छ ।

यता रुसी अधिकारीहरुले पनि वार्ता व्यवहारिक चरणमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्