युक्रेनी सेनाले रुसी आक्रमणकारीलाई रोक्न सफल : जेलेन्स्की



किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशका सैनिकहरु रुसी आक्रमणकारीलाई रोक्न तथा कुनामा धकेल्न सफल भएको बताएका छन् । सोमबार राति जारी गरेको भिडियो सन्देशमा जेलेन्स्कीले रुसले ‘सुस्त गति’ मा अघि बढ्ने प्रयास गरिरहे पनि उनीहरु त्यसमा सफल नभएको दाबी गरेका हुन् ।

रुसी सैनिकहरु विचलित भएको र उनीहरुलाई रोक्न सकिएको जेलेन्स्कीले बताएका छन् । खार्किभ क्षेत्रमा युक्रेनी सुरक्षाकर्मीले रुसी लडाकु विमान खसाल्न सफल भएको दाबी पनि जेलेन्स्कीले गरेका छन् । रुसी युद्ध विमानका चालकका सम्बन्धमा जेलेन्स्कीले भने, ‘उनीहरुमा हृदय, आत्मासहित मानव बनाउने तत्वहरुको सट्टा शून्यता हुनु पर्छ ।’

यसैबीच युक्रेनी सैनिकले राजधानी किएभ नजिकैको शहर पुनः आफूहरुको नियन्त्रणमा आएको दाबी गरेको छ । किएभबाट नजिक रहेको माकारिभ बजार रुसी सैनिकको कब्जामा गएको थियो ।

प्रतिक्रिया दिनुहोस्