रुसको निरन्तर आक्रमणले युक्रेनको जनजीवन अस्तव्यस्त



किभ। युक्रेनको राजधानी कीभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन् । पत्रकारका अनुसार कीभको उत्तरपश्चिममा रहेको ‘रेट्रोभिल’ सपिङ मलको अगाडि छवटा शव राखिएको थियो । भवनमा शक्तिशाली विस्फोट भएको थियो जसले यसको कार पार्कमा रहेका सवारीसाधनहरू समेत ध्वस्त पारेको थियो।

साथै रुसको ब्ल्याक सी फ्लीटका एक वरिष्ठ नौसेना कमाण्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले आइतबार पुष्टि गरेका छन् ।  पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा लडाइँका क्रममा फ्लीटका डेपुटी कमाण्डर पोस्ट(क्याप्टेन आन्द्रेई पालीको मृत्यु भएको हो । मिखाइल रजभोजायेभले मेसेजिङ एप टेलिग्राममा सो कुरा उल्लेख गरेका छन् । सेभास्टोपोल रूसको ब्ल्याक सी फ्लीटको आधार हो।

 यता रुस र युक्रेनका बीचमा युद्धविरामका लागि सकारात्मक प्रगति भएको देखिएको छ । सो कुरा टर्कीले जनाएको छ । टर्कीका विदेशमन्त्रीले रुस र युक्रेनका बीचमा युद्धविरामका लागि सहमति भएको र कतिपय बुँदाहरुमा प्रगति भएको टर्कीका विदेशमन्त्री मेभलुत केभेस्लुतले जानकारी दिएका हुन् ।

यसअघि पनि यी दुई देशबीच विभिन्न समयमा एक दिने युद्धविराम भएका थिए र यसले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न सजिलो भएको थियो । मस्कोले अहिले पनि कतिपय भूभागमा बिहान ९ देखि बेलुका ९ बजेसम्म युद्धविराम गर्ने गरेको बताइएको थियो तर पनि त्यसको पालना भने भएको थिएन ।

उत्तरपश्चिममा इरपिनबुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको भीषण बमबारीबाट बच्न किभमा सारिएको बताइएको छ । रुसी सिमानानजिक रहेको दुई लाख ५० हजार जनसंख्या भएको सहर सुमीबाट हजारौँ नागरिक विस्थापित भएका छन् । यस सहरमा रुसले ठूला आक्रमण गर्ने गरेको छ ।

निरन्तरको आक्रमणले युक्रेनको जनजीवन अस्तव्यस्त बनेको छ । यहाँका ठूलो संरचनाहरु आकासबाट गरिएका बमबारीले ध्वस्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्