एमसीसीबारे अमेरिका र चीनको अभिव्यक्ति गम्भीर छ : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको विषयमा अमेरिका र चीनले दिएको अभिव्यक्ति गम्भीर रहेको बताएका छन् । उनले शनिबार बानेश्वरमा बसेको स्थायी कमिटी बैठकमा एमसीसीबारे अमेरिका र चीनको अभिव्यक्ति गम्भीर रहेको बताएका हुन् । उनले नेपालको असंलग्न परराष्ट्र नीतिमा आँच पुग्ने कुनै काम गर्न नदिइने समेत बताएका छन् ।

आफूहरु कुनै पनि शक्ति राष्ट्रको पक्षमा नउभिने अध्यक्ष नेपालको भनाइ छ । ‘कुनै पनि शक्ति राष्ट्रले निर्माण गरेको ब्लकमा सामेल भइने छैन । नेपालको संविधान र कानुनलाई तल पार्ने काम गर्न दिइने छैन’, बैठकमा अध्यक्षले नेपालले राखेको धारणा उधृत गर्दै एक नेताले भने । एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा नेपालका राजनीतिक दलहरुबीच विवाद बढ्दै गएका बेला अमेरिका र चीन दुबैले प्रतिक्रिया सार्वजनिक गरेका छन् । अमेरिकाले गत हप्ता नेपालमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतालाई टेलिफोन गरी एमसीसी अनुमोदन गर्न दबाब दिएको थियो ।

त्यसप्रति चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिङले अमेरिकाले एमसीसीमा बलजफ्ती कुटनीति अपनाएको प्रतिक्रिया दिएका थिए । ‘दुवै देशको अभिव्यक्ति गम्भीर हो । तर कसैको गठबन्धनमा नउभिनेमा प्रष्ट हुनुपर्छ’, ती नेताले अध्यक्ष नेपालको भनाइ सुनाए ।

शक्ति राष्ट्रको कुनै पनि ध्रुवमा उभिन्नौं भन्दा अमेरिका र चीन दुवैले आशंकाले हेर्न नहुने पनि अध्यक्ष नेपालको भनाइ छ । एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले भने एमसीसी यथास्थितिमा अनुमोदन नगर्ने निर्णय गरेको छ । तर, नेकपा एमालेले गरिरहेको संसद अवरोध हटेमा एमसीसी पेश गर्न दिइने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले बताए । ‘संसदको अवरोध हट्नुपर्छ । गठबन्धनमा सहमति हुनुपर्छ । एमसीसीबारे संसदमा छलफल गर्न खुला छौं’, खतिवडाले भने ।

प्रतिक्रिया दिनुहोस्