प्रधानमन्त्री भेट्न नेकपाका शीर्ष नेता र शुभेच्छुकहरु अस्पतालमा



काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीकाे शनिबारदेखि नै स्वास्थ्यमा समस्या देखिएपछि साेमबार बिहानै अस्पताल भर्ना गरिएको छ । सोमबार बिहान एक्कासी छातिमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

 

 प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर सो विषयमा जानकारी दिने तयारी गरेको छ । शिक्षण अस्पतालमै मनमोहन कार्डियोभास्कुलर सेन्टरमा प्रधानमन्त्रीलाई राखिएको छ।

 

यसअघि गत शुक्रबार नै चिकित्सकले केही दिन अस्पतालमै राख्नुपर्ने बताए पनि ओलीलाई चिकित्सकको निगरानीमा बालुवाटार नै राखिएको थियो। बालुवाटारमा क्याबिनेट चिकित्सक, कलेजो रोग विशेषज्ञ डा. दिलिप शर्मा प्रधानमन्त्रीको उपचारमा खटिएका थिए। यस्तै, फुड न्युट्रिसियनका रुपमा डा. सन्तकुमार दास पनि बालुवाटार खटिएका थिए। प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह भने अहिले देश बाहिर छिन्। 

 

शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा समेत उनी स्वास्थ्य समस्याकै कारण जान सकेका थिएनन्। संक्रमण बढ्ने सम्भावना भएपछि चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएपछि निवासमै बसेका थिए।

 

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमी आएको र रुघाखोकीका कारण छातीमा संक्रमण बढेको छ। 


प्रधानमन्त्री अाेली भेट्न नेकपा शिर्ष नेताहरु पुगे 

 अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु अस्पताल पुगेका छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरु र शुभेच्छुकहरु अस्पताल पुगेका छन्।  प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा अस्पताल पुगेका थिए।

यस्तै, नेकपाका महासचिव विष्णु पौडेल, नेताहरु भीम रावल पनि अस्पताल पुगेका छन्। अस्पताल परिसरमा अहिले नेपाल सरकारका मन्त्री र शुभचिन्तकहरुको उपस्थिति रहेको छ।

प्रतिक्रिया दिनुहोस्