सोमबारबाट मनसुन फेरि सक्रिय, आगामी तीन दिन वर्षाको सम्भावना



काठमाडौं : सोमबारबाट फेरि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सक्रिय हुँदा देशभर हल्कादेखि मध्यम वर्षा हुने छ । साथै केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई–मधेश भूभाग नजिक रहने छ । साथै अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले फेरि झरी शुरु हुने विभागको पूर्वानुमान छ ।

‘आउँदो सोमबार (साउन १२) रातिबाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशको धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरुमा भारी वर्षा हुन सम्भावना रहेको छ,’ विभागले आइतबार बिहार जारी गरेको विशेष मौसमी बुलेटिनमा लेखिएको छ ।

त्यसैले ती स्थानहरुका नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने छ । साथै ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहनसक्ने भएकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आइतबार राति प्रदेश १ र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित : साउन ११, २०७७

प्रतिक्रिया दिनुहोस्