प्रहरीले बलात्कारी भगाएपछि ललितपुर तनावग्रस्त



काठमाडाैं: आक्रोशित स्थानीयको घेराबन्दीमा परेपछि ललितपुरस्थित इलाका प्रहरी कार्यालय टंगोलका प्रहरीहरु चौकी छोडेर भागेका छन् । घरको कोठाभित्र छिरेर १३ वर्षिया बालिका बलात्कारको प्रयास गर्ने एक युवकलार्इ रंगेहात समातेर प्रहरीलाई बुझाउँदा समेत स्वयम् प्रहरीले नै स्थानीयलाई गुमराहमा राखेर अपराधी भगाएको भन्दै आक्रोशित भीडले चौकी घेराउ गरेको छ । 

 

चौकीभित्र थुनेर राखेका युवक झ्यालबाट भागेको भन्दै खोज्ने बहानामा सबै प्रहरी कार्यालय छोडेर फरार भएको महांकाल गाउँपालिकाका प्रमुख रामचन्द्र दाहालले बताए ।

 

जिल्लाको महांकाल गाउँपालिका गोटीखेलमा बुधबार राति एक युवकले स्थानीय १३ वर्षिया बालिकालाई उनकै घरको कोठाभित्र छिरेर बलात्कारको प्रयास गरेका थिए । भित्री बस्त्रसमेत खोलेर बालिकालाई जबर्जस्ती गर्न खोजिरहेको अवस्थामा आमाबुबाले देखेपछि ती युवक नांगै भागेका थिए ।

 

बालिकाका आमाबाबुले गुहार मागेपछि भाग्दै गरेको अवस्थामा छिमेकीले ती युवकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय टंगोलमा बुझाएको थिए । तर बिहीबार प्रहरीले ती युवकलाई मिलेमतोमा भगाएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

 

‘बाहिर चौकीको अगाडी हामीसँगै बसेका छौं, भित्र कोठामा लगेको अपराधी पछाडी झ्यालबाट भगाए’ प्रमुख दाहालले भने- ‘मान्छे भाग्ला है भन्दा भन्दै पनि हैन भित्र छ भनेर हामीले गुमराहमा राखियो र प्रहरीको मिलेमतोमा अपराधी भगाइयो ।’

 

महांकाल गाउँपालिका प्रमुख दाहालले द नेपाल टपलार्इ दिएकाे जानकारी अनुसार ती युवक भारतिय रहेकाे बुझिएकाे छ । उनी ललितपुरमा ग्रील उद्याेगमा काम गर्दै अाएका मजदुर रहकाे अनुमान स्थानियकाे छ ।

जनप्रतिनिधिसहित पिडीत परिवार र स्थानीयले दोषीलाई कारवाहीको माग गर्दै प्रहरी चौकीको ढोकामै धर्ना दिइरहेको अवस्थामा प्रहरीले ती युवकलाई झ्यालबाट भगाएको घटनास्थलबाट दाहालले बताए । ती युवकको पूर्णरुपमा पहिचान हुन नसके पनि नजिकै घर बनाउने ठाउँबाट आएको कामदार भएको बुझिएको उनले बताए ।

 

बालिकाको कोठाबाट ती युवकको पाइन्ट र भित्री बस्त्र (अन्डरवेयर) समेत बरामद भएको गाउँपालिका प्रमुख दाहालले बताए । त्यहाँको अवस्था अहिले पनि तनावग्रस्त छ । स्थानीयले प्रहरी चौकीबाहिर टायर बालेर प्रदर्शन गरिरहेका छन् । अहिले चापागाउँ प्रहरी बृतबाट डिएसपीको नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्