महासेठसँग रुष्ट सञ्जय ‘टक्ला’ फोरम पस्दै 



काठमाडौं : विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वराज्यमन्त्री सञ्जय साह ‘टक्ला’ ले पुराना सारथि उपेन्द्र यादवको कित्तामा फर्कने गृहकार्य थालेका छन् । प्रत्यक्ष राजनीतिक संरक्षणबिना मुद्दामामिलामा पैरवी गराउन र राजनीतिक वृत्तमा उपस्थिति देखाउन पनि नसकिने विश्लेषण गर्दै उनी संघीय समाजवादी फोरम नेपालसँग निकट हुन खोजेका हुन् । 

सञ्जयका सहयोगी र उनी नेतृत्वको मधेसी क्रान्ति फोरमका धनुषा अध्यक्ष नवीन यादवले फोरम अध्यक्ष यादवसँग भेटेर आफ्नो समूहको सुरक्षित राजनीतिक अवतरणका बारेमा चर्चा गरेपछि सञ्जय यादवको कित्तामा पस्न थालेको खुलासा भएको हो ।

 

‘फोरम अध्यक्ष यादवसँगको भेटमा नवीनले ठूलो संख्यामा रहेका सञ्जय समर्थकलाई पार्टीसँग जोड्ने जनाउँदै त्यसबापत सञ्जयको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् । यद्यपि अध्यक्ष यादवले यस विषयमा अहिलेसम्म कुनै आश्वासन दिएका छैनन्,’ फोरम स्रोतले भन्यो । तर, मधेसी क्रान्ति फोरमका नवीनले भने केही दिनपछि जनकपुरमा आयोजना हुने कार्यक्रममा आफूहरूले फोरमको सदस्यता लिने बताए ।

 

प्रतिनिधिसभाको गत निर्वाचनमा सञ्जय र उनका समर्थकले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिका पक्षमा चुनावी क्याम्पेन गरेका थिए । यसअघि सञ्जय तत्कालीन सद्भावना पार्टीमा आबद्ध थिए । सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले आफ्नो राजनीतिक जीवन समाप्त पार्न जालझेल गरी आफूलाई पक्राउ गर्न लगाएको भन्दै सञ्जयले चुनावमा निधिलाई साथ दिएका थिए । निधिका चुनावी प्रतिस्पर्धी महतो नै थिए । 

चुनावमा कांग्रेस कमजोर ठहरिएपिछ र निधि पनि पराजित भएपछि विचलित सञ्जयका समर्थक नेकपा नेता एव‌ं मन्त्री रघुवीर महासेठको कित्तामा पुगे । उनीहरूले सञ्जयलाई छुटाउन महासेठमाथि दबाबसमेत बनाए । महासेठले सञ्जयको रिहाइका लागि वातावरण बनाउन पार्टीका शीर्ष नेताहरूसँग कुरा पनि गरे । तर, अन्तिम समयमा आएर महासेठ पछि हटे । नेकपा कार्यकर्ताले सञ्जयलाई छुटाउनु आत्मघाती हुने जिकिर गरेपछि महासेठ पछि हटेका हुन् । 

त्यसलगत्तै सञ्जयले सत्तारुढ फोरम अध्यक्ष यादवको छत्रछायामा अघि बढ्ने निधो गरेका हुन् ।   

   

पहिलो मधेस आन्दोलनपछि तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष यादवको अप्रत्याशित निर्णयबाट सञ्जयले संविधानसभा सदस्यको टिकट पाएका थिए । तत्कालीन एमाले नेता महासेठ र कांग्रेस नेतृ लीला कोइरालालाई पराजित गर्दै उनी पहिलो संविधानसभामा पुगेका थिए । सोही कार्यकालमा फोरम फुटेपछि उनले विजयकुमार गच्छदारकाे नेतृत्वमा फोरम लोकतान्त्रिक बनाए । त्यसैबेला उनी भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री नियुक्त भएका थिए ।

गच्छदारसँग असन्तुष्ट भएर फोरम लोकतान्त्रिकलाई विभाजित गर्न पटकपटक असफल प्रयत्न गरेका उनले त्यसो गर्न नसकेपछि मधेसी क्रान्ति फोरम गठन गरी मधेससम्बद्ध मुद्दालाई लिएर आफ्नो राजनीतिक गतिविधि बढाएका थिए । 

संविधानसभा २ को निर्वाचनपूर्व राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टीमा प्रवेश गरेका सञ्जय पार्टीकाे वरिष्ठ उपाध्यक्षमा नियुक्त भए । यद्यपि सद्भावनाका अन्य नेताले भने उनी वरिष्ठ उपाध्यक्ष रहेको कहिल्यै स्वीकार गरेनन् । सद्भावना पार्टीकै तीर छापबाट संविधानसभा २ सदस्यमा निर्वाचित भएका सञ्जयले पार्टी फुटाएर आफैं अध्यक्ष बन्न खोजेको आरोप लागेको थियो । 

यसैबीचमा सञ्चारउद्यमी अरुण सिंहानिया हत्याकाण्डमा उनको नाम मुछियो र फरार भए । त्यसपछि तत्कालीन सद्भावना अध्यक्ष राजेन्द्र महतोको सुराकी र दबाबका कारण भारतीय प्रहरीले उनलाई दिल्लीबाट पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको आरोप सञ्जयले लगाउँदै आएका छन् । ‘मैले महतोबाट अभिभावकजस्तो राजनीतिक संरक्षण खोजें र सम्पर्क गरें तर उनले मलाई फसाए । खासमा मलाई सिद्धयाएर जनकपुरबाट चुनाप लड्ने महतोको दाउ रहेछ,’ पक्राउ परेपछि सञ्जयले सञ्चारकर्मीसँग भन्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्