राजपा र फोरमले नै संविधान संशोधन बिर्सिए: निधि



काठमाडौं । मधेस केन्द्रित दल राजपा र संघीय समाजवादी फोरमले संविधान संशोधनमा दोहोरो चरित्र देखाएको आरोप नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लगाएका छन्।

पार्टी कार्यालयमा संविधान जारी भएको तीन वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलनमा निधिले राजपा र फोरमकै मागअनुसार संविधान संशोधन गर्न कांग्रेस अझै प्रतिबद्ध रहे पनि उनीहरुले ओझेलमा पारेको बताएका हुन्।

निधिले अहिलेको सरकारमा सहभागी र समर्थन दिएका फोरम र राजपाले संशोधनको विषय बिर्सेको उल्लेख गरे। चुनावअघि संशोधनका पक्षमा चर्को आवाज उठाउने दुई दलले अहिले चर्चासमेत गर्न छाडेर दोहोरो चरित्र देखाएको निधिको भनाइ थियो।

‘मधेसी जनता संविधान संशोधन चाहन्छन् । फोरम र राजपाले दोहोरो चरित्र देखाएर जनतालाई ढाँटे,’ उपसभापति निधिले भने।

कांग्रेस संविधान संशोधनका लागि बिना शर्त सहयोग गर्न तयार रहे पनि सत्ता पक्षले संशोधनको विषयलाई झारा टार्ने हिसाबले लिएको उनको भनाइ थियो । संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने राजपाको कामलाई निधिले औचित्यहीनको संज्ञा दिए।

उनले भने, ‘संविधान अनुसार भएको चुनावमा भाग लिएर कालो दिनका रुपमा मनाउनुको औचित्य के ? यो गलत र दोहोरो चरित्र हो।’ कांग्रेसले संविधान कार्यान्वयनमा सरकार गम्भीर नभएको र संघीयतालाई असफल बनाउन लागि परेको आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस्