लापरवाहीले कुरूप बन्यो बाह्रबिघा मैदान



जनकपुरधाम : जनकपुरको रंगभूमि मैदान फोहोरले ढाकिएको छ। जसका कारणा तर चैत ११ गते हुने भनिएकाे सहिदकप टी २० क्रिकेट प्रतियोगिता नै खल्लाे हुने भन्दै स्थानीयले गुनासाे गरेका छन्। 

धनुषाको ठेडा कचरीबाट सुरु मिथिला माध्यमिकी परिक्रमा नेपाल र भारतका विभिन्न १५ सहर घुम्दै पुनः जनकपुर आइपुगेकाे धार्मक यात्राले पनि बाह्रिबिघा क्षेत्र फाेहाेर पारेकाे हाे। उक्त धार्मिक यात्रामा सहभागी डोलाहरुको बसाइ जनकपुरमा १२ बिघा मैदानमा भएकाे थियाे।  

हजारौं मान्छे समावेश उक्त धार्मिक समूह बाह्रबिघा मैदान बसेका थिए। हरेक साल हुने यात्रा यस वर्ष पनि भएको थियो। उक्त समूह फागु पूर्णिमाको एक दिनअघि बुधबार राति र बिहीबार बसेको थियो। उक्त यात्रा संलग्नहरु बसेको ठाउँ अझै सफा गरिएको छैन। १५ दिने परिक्रमापछि फर्केको हजारौं मानिसको त्यो भीडले रंगभूमि मैदानमा फोहोर थुप्रिएको छ। 

उक्त बाह्रबिघा मैदानमा चैत ११ गतेदेखि सहिदकप टी २० क्रिकेट प्रतियोगिता हुँदै छ। तर, मैदानको अवस्था बेहाल जस्तै छ। प्रतियोगिता सुरु हुन दुई दिन बाँकी छ। तर, मैदान सफा गर्नेतर्फ सरोकारबाला निकायको ध्यान जान सकेको छैन। यसमा नगरपालिकाले चासो नदेखाएको स्थानीय तथा प्रतियोगिता आयोजकले गुनासो गरेको छ।

क्रिकेट आयोजक समितिका संयोजक रूपेश सिंह भन्छन, ‘हामीले नगरपालिकालाई दुई दिनअघि  नै जानकारी गरायौं। तर, सफाइ नै गरिदिएन।’ आज अर्थात् ९ गते शनिबार उपमहानगरपालिकाले मैदान सफा पारिदिने आश्वासन दिएको उनले बताए पनि मैदान अझै उस्तै छ। 

सफाइ किन भएन भन्ने प्रश्नमा जनकपुर उपमहानगरपालिका सरसफाइ संयोजक ललन कर्ण भन्छन्, ‘सफा गर्ने त भनेको हो, तर सफाइ कर्मचारी नै आइदिएनन्।’ गैरजिम्मेवारी ढंगले उत्तर दिँदै उनले भने, ‘कर्मचारी नआइदिएपछि हामीले के गर्ने भन्नुस् त?’ होली पर्व परेकाले कर्मचारी नआएको हुन सक्ने कर्णले द नेपालटपलाई बताए। 

सफा हुन नसकेको रंगभूमि मैदान आसपास दुर्गन्धसमेत फैलिएको छ। जसका कारण बाह्रबिघा क्षेत्र नै कुरूप देखिएको छ। पर्यटकहरु रंगभूमि मैदान पुग्दा नाक खुम्चाउँदै हिँड्न थालेका छन्। 

अरु त अरु, जनकपुर घुम्न जानेहरुको गाडी पार्किङस्थल पनि रंगभूमि मैदान बनेको छ यतिबेला।  

 

प्रतिक्रिया दिनुहोस्