नेपाली भूमिमा सडक निर्माण गर्दा भारतीय एसएसबीको अवरोध



कैलाली : कञ्चनपुरका सीमावर्ती नेपाली भूमिमा बारम्बार हस्तक्षेप गर्दै आएको भारतले ब्रम्हदेवमा निर्माणाधीन सडकको काम रोकेको छ । कञ्चनपुरको उत्तर पश्चिमी सीमा क्षेत्र ब्रम्हदेबमा नेपाली भूमिमा निर्माण जारी रहेको सडकमा  एसएसबीले हस्तक्षेप गरेका हो । 

भारतीय सीमा सुरक्षा बल एसएसबीले शुक्रबार ब्रम्हेदब–टनकपुर जोड्ने नेपाल तर्फको भूमिमा सडक कालोपत्रे गर्ने कार्यमा अवरोध पु¥याएको निर्माणको जिम्मा पाएको न्यु जोशी कस्ट्रक्सनका सञ्चालक भीमराज जोशीले बताए ।

 

उनका अनुसार एसएसबीले अवरोध गरेपछि सडक निर्माण कार्य रोकिएको छ । चार जना एसएसबीका जवान आएर काम रोकेको उनको भनाइ छ । ‘हामी त काम गर्नका लागि मजदुर सहित जेसिभी टिप्पर लगेर ब्रम्हदेब गएका थियौँ,’ जोशीले भने, ‘माथिको आदेश छैन भन्दै काम गर्न दिएन ।’ 

भीमदत्त नगरका प्रशासकीय अधिकृत हरिसिंह धामीले नेपाली पक्षले आफ्नो सडक कालोपत्रे गर्ने क्रममा भारतीय पक्षले अवरोध गरेको बताए । उनका अनुसार एसएसबीले विवादित क्षेत्र भन्दै निर्माण कार्य रोक्न भनेपछि काम रोकिएको हो । 

एसएसबीले दुवै देशका सीमा संयुक्त सर्वे टोली र डिएमस्तरिय बैठकबाट सीमा विवाद टुङ्गो लागेपछि मात्रै काम गर्न दिने बताएका छन् । 

नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ को योजना अनुसार ४३ लाख लागतमा १.३८ किलोमिटर सडक कालोपत्रे गर्नका लागि न्यु जोशी कस्ट्रक्सनलाई ठेक्का दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्