कार्यकर्तालाई नेता पौडेलले भने, पौडेल र देउवा भनेर नलाग्नुस् 



सिन्धुली : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्तालाई गुटको राजनीति नगर्न आग्रह गरेका छन्। पौडेलले कांग्रेसको सिद्धान्त र मुल्य मान्यतालाई आत्मासाथ गर्न अनुरोध गर्दै गुटको राजनीति नगर्न कार्यकर्तालाई आग्रह गरे। नेपाल शिक्षक संघ सिन्धुलीको २१ औं जिल्ला प्रतिनिधि सभालाई सम्बोधन गर्दै नेता पौडेलले कार्यकर्तालाई पौडेल र देउवा भन्ने सिद्धान्त त्याग्न आग्रह गरे।

‘अब पौडेल र देउवा भनेर नलाग्नुस्, उनले भने, ‘कांग्रेसको सिद्धान्तमा मात्रै लाग्नुस्।’ नेतृत्वमा सोच्ने बोल्ने र बोलीअनुसारको काम गर्ने क्षमता हुनुपर्ने भन्दै सोच्ने बोल्ने र गर्ने शैली नमिल्दा कांग्रेसको हार भएको उनको भनाई छ। कार्यकर्ताले नेताको मुल्यांकन गर्न नसकेको भन्दै कार्यकर्ताले पनि नेताको मुल्यांकन गर्न सक्नुपर्ने बताए।

‘नेपालको राजनीति षड्यन्त्रपूर्ण छ’, उनले भने, ‘२००७ सालमा जनताको इच्छा, चाहना र सम्मानको शासन हुनुपर्छ भनेर राणा शासन फालियो, जब लोकतन्त्रको युग आयो, लोकतन्त्रमाथि निरन्तर प्रहार भयो। कहिले दक्षिणपन्थी दरबाररियाबाट र कहिले बामपन्थीबाट लोकतन्त्रको प्रहार भइरहेको छ।’ देशमा अराजनीतिक जमातको झुल्को उठेको छ। त्यो सबैबाट लोकतन्त्रमाथि निरन्तर प्रहार हुँदा नेपालको राजनीतिमा षडयन्त्रपुर्ण छ, उनले भने।

सरकारले जनतामा शान्ति सुरक्षा दिन नसकेको भन्दै पौडेलले देश र जनताले सुरक्षाको महसूस गर्न नसकेको बताए। नेता पौडेलले सरकारको काम गर्ने ढंग नभएको आरोप लगाए। वाइडबडी खरिद प्रकरणमा केपी सरकार आफैं अख्तियार अदालत भएको आरोप लगाउँदै सरकारलाई जथाभावी बोल्ने अधिकार नभएको र यथार्थ के हो छानबिन हुनुपर्ने पौडेलको भनाई छ। 

प्रतिक्रिया दिनुहोस्