प्रेममा डबल धोका, फिल्म लगातार फ्लप : असफलताबीच पनि हिम्मत नहारेकी रानी



मुम्बई : २१ मार्च १९७८ मा मुम्बईमा जन्मेकी रानी मुखर्जीले बलिउडमा सन् १९९७ मा प्रदर्शित ‘राजाकी आएगी बारात’ बाट पदार्पण गरेकी हुन्। 

डेब्यू फिल्मले गतिलो व्यापार गर्न नसके पनि रानीको अभिनय भने दर्शकले निकै रुचाए। पहिलो फिल्मबाट प्रशंसा पाएकी रानीका सन् १९९८ मा आएका आमिर खानसँगको ‘गुलाम’ र शाहरुख खानसँगको ‘कुछ कुछ होता है’ करियरको टर्निङ पोइन्ट बन्न पुगे। 

दुवै फिल्म सुपरहिट भए। ‘कुछ कुछ होता है’ को चरित्रबाट त उनले सर्वोत्कृष्ट सह–अभिनेत्रीको फिल्मफेयर अवार्ड नै हात पारिन्। रानीले यसपछि उनले बलिउडको सबैभन्दा ठूलो अवार्ड मानिने फिल्मफेयर अवार्ड विभिन्न विधामा गरी ७ पटक हात पारिन्।

सन् १९९९ देखि २००२ सम्म रानीको फिल्मी करियरलाई ‘डार्क टाइम’ भनिन्छ। उनले यो समयमा काम गरेका अधिकांश फिल्म व्यापार गर्न असफल रहे। यस क्रममा उनका ‘हेलो ब्रदर’, ‘बादल’, ‘हर दिल जो प्यार करेगा’, ‘हद कर दी आपने’, ‘बिच्छु’,  ‘कहिँ प्यार ना हो जाए’, ‘चोरी चोरी चुपके चुपके’, ‘बस इतना सा ख्वाब है’, ‘प्यार दिवाना होता है’, ‘मुझसे दोस्ती करोगे’ जस्ता फिल्म प्रदर्शन भए पनि हिट हुन सकेनन्। 

तर  सन् २००२ मा यशराज फिल्म्सको ब्यानरमा निर्मित ‘साथिया’ ले उनको ओरालो लागेको करियर ग्राफ फेरि सफलताको शिखरतिर उकालो चढाउन सघाउने फिल्म बन्यो। फिल्ममा उनको र विवेक ओबरोयको स्क्रिन केमिस्ट्री दर्शकले अत्यधिक रुचाए। 

त्यसपछि सन् २००३ मा शाहरुख खानसँग उनले ‘चलते चलते’ मा काम गर्ने अवसर पाइन्। यो सिनेमाले बक्स अफिसमा बबाल कारोबार गर्‍यो र सुपरहिट भयो।

अभिषेक र गोविन्दासँगको अफेयर

सन् २००५ मा प्रदर्शित ‘बंटी और बबली’ रानीको करियरकै सुपरहिट फिल्म थियो। यसमा उनले मेगास्टार अमिताभ बच्चनका सुपुत्र अभिषेक बच्चनसँग स्क्रिन सेयर गरेकी थिइन्। 

फिल्ममा रानी–अभिषेकको जोडी र अभिनय दुवै दर्शकले अत्यधिक रुचाए। फिल्मको सफलताको चर्चाभन्दा बढी रानी–अभिषेकको अफेयरको चर्चाले बलिउड ततायो।

त्यसताका अभिषेकले रानीसँग विवाह नै गर्न चाहेको तर उनकी आमा जया भादुडीले नमानेपछि ब्रेकअप भएको गसिप सञ्चारमाध्यममा छाएका थिए। 

अभिषेकपछि रानीको अफेयर गोविन्दासँग चलेको चर्चा भयो। त्यसताका गोविन्दा पत्नी र छोराछोरी छाडेर रानीसँगै बस्न थालेको अफवाह पनि व्यापकै भएको थियो। 

पछि गोविन्दाकी पत्नी सुनिताले सम्बन्धविच्छेदसँगै आधाभन्दा बढी सम्पत्ति मागेकाले गोविन्दाले रानीसँग ब्रेकअप गरेको बताइन्छ।

फेरि लगातार असफल

सन् २००७ देखि २०१० सम्म रानीको करियर ओरालो मात्र लागेन व्यक्तिगत जीवन पनि तनावग्रस्त रह्यो। एकातिर उनलाई अभिषेकसँगको ब्रेकअपको पीडा थियो भने अर्कातिर उनी अभिनित फिल्म निरन्तर बक्स अफिसमा सुपर असफल भइरहेका थिए। 

यस क्रममा उनका ‘तारा रम पम’, ‘लागा चुनरी में दाग’, ‘थोडा प्यार थोडा म्याजिक’, ‘साँवरिया’, ‘लक बाई चान्स’,  ‘दिल बोले हडिप्पा’ रिलिज भए। 

तर उनका यी सबै फिल्मले सिनेमा हलमा दर्शक तान्न सकेनन्। तर लगातार फ्लप भए पनि रानीले हिम्मत हारिनन्। 

सन् २०११ मा प्रदर्शित फिल्म ‘नो वन किल्ड जेसिका’ प्रदर्शनमा आयो। यो फिल्मले भने एकपल्ट फेरि रानीको करियरलाई राहत दियो। 

त्यसपछि सन् २०१२ मा प्रदर्शनमा आएको आमिर खानसँगको सिनेमा ‘तलाश’ पनि सफल रह्यो।

बिहेपछिको सफलता

यसबीच रानीले सन् २०१४ मा निर्माता  आदित्य चोपडासँग विवाह गरिन्। बिहे गरेकै वर्ष उनको फिल्म ‘मर्दानी’ प्रदर्शनमा आयो। फिल्म पनि दर्शकले अत्यधिक मन पराए। 

उनको अभिनयको चौतर्र्फी तारिफ भयो। सन् २०१५ मा रानीले छोरी आदिरालाई जन्म दिइन्। आमा बनेको चार वर्षपछि रानी अर्को फिल्म ‘हिचकी’ मा देखिइन्। 

सन् २०१८ मा प्रदर्शनमा आएको ‘हिचकी’मा उनी एक शिक्षिकाको भूमिकामा थिइन्, जो टरेट सिन्ड्रोमको बिरामी हुन्छे। रोगबाट उसको व्यावसायिक जीवनमा कस्तो असर पर्छ फिल्ममा देखाइएको छ।

थोरै बजेटमा निर्मित सिनेमाले ४७ करोडको व्यापार गरेर सुपरहिट सिनेमाको सूचीमा पर्‍यो। यसरी रानीको करियर सरसर्ती हेर्दा जीवनमा सफलता र असफलता दुवै आउने र असफल भएका बेला हरेस खानुको साटो मनोबल दरो बनाएर संघर्ष गर्नु पर्छ भन्ने पाठ लिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्