भीमदत्त नगरपालिकामा भूकम्प प्रतिरोधी भवन निर्माण तालिम



महेन्द्रनगर : भीमदत्त नगरपालिकामा डकर्मीहरूका लागि सञ्चालन गरिएको भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम सम्पन्न भएको छ । 

भीमदत्त नगरपालिका र राष्ट्रिय भूकम्प प्रविधि समाज नेपाल (एनसेट) को संयुक्त आयोजनामा सात दिने तालिम सञ्चालन गरिएको हो । ‘दह्रो घर, दिगो बस्ती’को नारा सहित सञ्चालन गरिएको तालिममा २५ जना डकर्मी सहभागी थिए ।

समापन कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले सुरक्षित आवास र दिगो बस्ती बनाउने लक्ष्य अनुसार एनसेटसंग सहकार्य गरी तालिम सञ्चालन गरिएको बताए ।

आर्थिक वर्ष २०७२/७३ देखि भीमदत्त नगरपालिकाले भवन संहिता लागू गरेको थियो । संहिता अनुसारका भवन निर्माणका लागि दक्ष डकर्मी उत्पादनका गर्न तालिम सञ्चालन गरिएको हो । 

भीमदत्त नगरपालिका भूमि व्यवस्थापन तथा भवन नियमन शाखाका इन्जिनियर गोरख बहादुर सिंहले भवन संहिता कार्यान्वयनका लागि दक्ष जनशक्ति उत्पादनका गर्न तालिम सञ्चालन गरिएको बताए ।

तालिममा एनसेटका इन्जिनियर बोहरा सहित जगदीश विष्ट र सब–इन्जिनियर गणेश बमले प्रशिक्षण दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्